बालविवाह बढ्नुको मुख्य कारण जनचेतनाको कमी

रुकुमपश्चिम । रुकुमपश्चिममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी नै मुख्य कारण रहेको सरोकारवालाले जनाएका छन् ।

बुधबार खलङ्गामा समता फाउन्डेसनले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालविवाहका सवालमा सरोकारवालासँगको छलफल कार्यक्रममा बालविवाह बढ्नुको कारण जनचेतनाको कमी रहेको बताइएको छ । अभिभावकको सही निगरानी नहुँदा पनि बालविवाह बढेको बताइएको छ । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता चन्द्रबहादुर सिँजालीले बालविवाह न्यूनीकरणका लागि राज्यको ठुलो लगानी हुँदाहुँदै पनि असफल भइरहेको बताए । उनले गाउँ समाजमा थुप्रै बालविवाह हुने गरे पनि सम्बन्धित निकायमा जानकारी नहुने जनाएका छन् । बालविवाह न्यूनीकरण गर्न स्वयम् आफूबाट सुरुवात गर्नुपर्ने उनको भनाइ छ । बालविवाह गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने र ग्रामीणस्तरमा कानुनी सचेतना फैलाउनुपर्ने जिल्ला न्यायाधिवक्ता सिँजालीले उल्लेख गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जनचेतनाको कमीले गर्दा नै जिल्लामा बालविवाह हुने गरेको बताए । उनले २० वर्ष नपुगेका महिला बच्चासहित नागरिकता बनाउन आउने गरेको उल्लेख गर्दै बालविवाह रोक्न समुदायस्तरबाटै लाग्नुपर्नेमा जोड दिए । बालविवाहका घटना जिल्ला प्रहरी कार्यालयमा न्यून मात्रामा दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा आठ वटा बालविवाहका घटना दर्ता भएका थिए भने चालु वर्षमा सात वटा बालविवाहका घटना दर्ता भएका छन् । जनचेतनाको कमी, छोराछोरीप्रति अभिभावकको निगरानी नहुँदा पनि बालविवाह बढेको उनको भनाइ छ । बालविवाहको खास कारण पत्ता लगाएर न्यूनीकरणतर्फ जोड दिनुपर्ने उनले बताए । बार एसोसिएसनका जिल्ला उपाध्यक्ष मनीषा रोकाय भण्डारीले बालविवाह न्यूनीकरण गर्न अभिभावकसँगै स्थानीय तहले सचेतना अपनाउनुपर्ने बताएका छन् । पहिले सहमतिमै विवाह गर्ने पछि गएर कुरा नमिल्दा जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले बालबालिकालाई पनि कानुनी विषयमा पनि जानकारी दिन आवश्यक रहेको उल्लेख गरे ।

२०७८ सालको जनगणना अनुसार कर्णालीका १० जिल्लामध्ये बालविवाह बढी हुने दोस्रो जिल्ला रुकुमपश्चिम रहेको छ । कार्यक्रममा समता फाउन्डेसनका अध्यक्ष मदनप्रकाश परियारले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यका साथ कर्णालीका सबै जिल्लामा सहकार्य गरेर अगाडि बढ्ने बताए । दुईबर्से कर्णाली सचेतना परियोजनामार्फत बालविवाहको दर तीव्र रूपमा घटाउने, स्थानीय तहमा महिनावारी सेवा केन्द्र विकास गर्ने र दलित किशोरीको सम्मानजनक जीवनयापन गर्ने वातावरण सिर्जना गरिने जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया