
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माहौल तातिएको छ । भोली हुने निर्वाचनका लागि विभिन्न दलनिकट सात संगठन र एक स्वतन्त्र गरी आठ जना स्ववियु अध्यक्षका लागि चुनावी मैदानमा छन् ।
६ वर्षपछि हुन लागेको निर्वाचनमा कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धामा छन् । यद्यपि, पछिल्लो समय दलहरूप्रतिको वितृष्णाका कारण मतदाताले चुनावी परिणाम फेर्न सक्ने विश्लेषणसमेत कतिपयले गरीरहेका छन ।
निर्वाचन समितिका अनुसार नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), स्वतन्त्र उम्मेदवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छेटौँ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघ निर्वाचन प्रक्रियामा सहभागी हुँदै छन् । निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार हालसम्म कुनै पनि संगठनले गठबन्धन गरेका छैनन् ।
कर्णालीको ठूलो शैक्षिक संस्था भएकै कारण मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनलाई विशेषगरी प्रमुख दलका विद्यार्थी संगठनहरूले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता साझेदार दल एमाले र कांग्रेसनिकट विद्यार्थी संगठनले स्ववियु नेतृत्व आफ्नो पक्षमा पार्न कसरत गरिरहँदा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । अन्य साना दलनिकट विद्यार्थी संगठनसँगै स्वतन्त्र उम्मेदवारले पनि मतदातालाई आफ्नो पक्षमा पार्न रणनीति अपनाएका छन् ।
उम्मेदवारहरूले विद्यार्थीको हकहितमा काम गर्ने दाबीसहित मतदाता फकाउने ध्याउन्नमा छन् । नेविसंघले विवेक खड्कालाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । अनेरास्ववियुले जगतजंग शाही र अखिल क्रान्तिकारीले प्रकाश विकलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट अध्यक्षमा चिनबहादुर सहकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार बनेकी छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली र मिलन विसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाता छन् । ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ । २०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपालीरैबार । २०८१ चैत्र १७, आईतवार