जुम्लामा स्याउ ढुवानी सेवा समस्याले नोक्सानी

जुम्ला । कर्णाली प्रदेशको जुम्लामा स्याउ उत्पादन बढेको छ । स्याउ उत्पादन जसरी बढेको छ, त्यसको ढुवानी सहज हुन नसक्दा कृषकहरूले नोक्सानी पनि उस्तै बेहोर्नु परेको एक अध्ययनले जनाएको छ ।

सुर्खेतस्थित ऋति फाउन्डेसनले जुम्लाको स्याउ बजार प्रणालीमा रहेका चुनौतीहरू र आवश्यक पहल विषयमा हालै एक अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा जुम्लामा स्याउ उत्पादनमा वृद्धि भए पनि ढुवानी व्यवस्थित नहुँदा नोक्सानी पनि उस्तै रहेको देखाइएको छ । सुर्खेतमा अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै अनुसन्धान अधिकृत सुस्मी सापकोटाले तीन वर्षको अवधिमा जुम्लामा स्याउ उत्पादन बढेको र ढुवानी सहज नहुँदा नोक्सानीको दर पनि बढेको जनाए । आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म जुम्लामा स्याउ उत्पादन २६ प्रतिशतले वृद्धि भएको छ । २०७८/७९ मा स्याउ किसान १४ हजार पाँच सय रहेकोमा आव २०८०/८१ मा २६ प्रतिशतले बढेर १८ हजार ३१५ जना पुगेका छन् । गत वर्ष जुम्लामा चार हजार २५० हेक्टर जमिनमा २० हजार ५११ मेट्रिक टन उत्पादन गरी जुम्लाबाट ६१ करोड ४० लाख बराबरको स्याउ बाहिर निकासी भएको अध्ययनमा उल्लेख छ ।

जुम्लामा स्याउ उत्पादन भएसँगै बिक्री दर पनि बढेको छ । जुम्लासहित सुर्खेत, काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, धनगढीसम्म जुम्लाको स्याउ पुग्ने गरेको छ । तीन आर्थिक वर्ष स्याउको बिक्री मात्रा १२ हजार मेट्रिक टनबाट बढेर २० हजार ५११ मेट्रिक टन पुगेको छ । ढुवानीको राम्रो व्यवस्था नहुँदा नोक्सानी पनि बढेको छ । बिक्री नहुने मात्रा पनि बढेको छ । बिक्री नहुने स्याउको मात्रा चार हजार मेट्रिक टनबाट बढेर नौ हजार १३६ मेट्रिक टन पुगेको छ । जुम्लाबाट बजारसम्म स्याउ पुग्न कम्तीमा आठदेखि १० दिन लाग्ने गरेको छ । भौगोलिक कठिनाइ, साँघुरो बाटो, पुराना कार्टुन, टिप्ने राम्रो व्यवस्था नहुँदा स्याउ कुहिने गरेको छ । ढुवानी व्यवस्थित हुन नसक्दा स्याउ प्रतिक्विन्टलमा औसतमा १० केजीसम्म नोक्सानी हुने गरेको पाइएको अनुसन्धान अधिकृत सापकोटाले बताएका छन् । स्याउको मूल्य शृङ्खलामा हुने नोक्सानलाई घटाउन र बिक्री नहुने स्याउको मात्रामा कमी ल्याउन आवश्यक रहेको भन्दै उनले स्याउको क्षति कम गराउने काम गर्नुपर्नेमा जोड दिए ।

महँगो कार्टुनको मूल्य, पुराना कार्टुन, ढुवानीमा कठिनाइले स्याउको मूल्य पनि महँगो हुने गरेको पाइएको अनुसन्धानले देखाएको छ । स्याउको वर्गीकरणको न्यून अभ्यास, परम्परागत प्याकेजिङ एवं व्यवस्थापन अभ्यास, आधुनिक कृषि अभ्यासको अङ्गीकरण नहुनु, उत्पादनपछि व्यवस्थापनको कमजोरीले गर्दा स्याउले उचित मूल्य पाउन नसकेको र नोक्सानी बढेको पाइएको उनले बताए ।

स्याउ उत्पादनका साथै सहज ढुवानीको व्यवस्था मिलाउन सके जुम्लामा स्याउबाट थप आम्दानी गर्न सकिने उनले औँल्याए । त्यसका लागि स्याउको आयु बढाउन र क्षति कम गर्न उत्तम अभ्यासको प्रयोग गर्नुपर्ने, कम गुणस्तरका स्याउको बजारीकरणका लागि प्रशोधन उद्योग स्थापना गर्नुपर्ने सुझाव अध्ययनको छ । निजी क्षेत्रको नेतृत्वमा फसलपछिको विस्तारित सेवा गर्नुपर्ने र राम्रो गुणस्तरको स्याउका लागि प्रतिस्पर्धी मूल्यसहितको बजारको व्यवस्थापन गर्न सकिए स्याउको मूल्य थप वृद्धि हुने सुझाव पनि अध्ययनले दिएको छ ।

तपाईको प्रतिक्रिया