जाजरकोटको ढुङ्गेबगैँचा पर्यटकीय आकर्षण

जाजरकोट । जाजरकोट जिल्लाको उत्तरी भेगमा रहेको बारेकोट गाउँपालिका–४, जिरीस्थित निर्माणाधीन ढुङ्गेबगैँचाले आन्तरिक पर्यटक तान्न थालेको छ ।

प्राकृतिक रूपमा रहेको चट्टान आफैँ बगैँचा जस्तै बनेको छ । फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त ढुङ्गेबगैँचाले आकर्षित गर्न थालेको हो । प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रूपमा विकास हुने देखिएको स्थानीयको भनाइ छ ।

पहरैपहराले बनेको छ भने कतै गुफा कतै ओढार रहेको छ । उक्त बगैँचा अवलोकन गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको त्यहाँ घुम्न पुगेका आन्तरिक पर्यटक बताउँछन् । चिसो वातावरण र लालीगुराँस फुलेको राताम्मे डाँडा र ढुङ्गाको बगैँचाको सुन्दर दृश्यले घुम्न आउनेहरू आनन्दित हुने गरेको स्थानीय तीर्थराज बोहोराको भनाइ छ । प्राकृतिक रूपमा बनेको ढुङ्गाको प्रचारप्रसार र विकासमा ध्यान दिन सके बारेकोट गाउँपालिकाको महìवपूर्ण पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने बारेकोट गाउँपालिका–४ का वडाध्यक्ष विष्णुबहादुर रावतले बताएका छन् । उनका अनुसार अहिले पनि पालिकाभित्रका मानिस दैनिक रूपमा घुम्न आउने गरेका छन् ।

यस स्थानबाट बारेकोट गाउँपालिकाका विभिन्न गाउँबस्ती अवलोकन गर्न सकिन्छ । बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरी ढुङ्गाको जङ्गल जस्तै देखिने यस स्थानको प्रचारप्रसार र व्यवस्थापनका लागि आवश्यक पहल गरी जाजरकोटकै एक प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्ने तयारी भइरहेको बताउछन् ।

तपाईको प्रतिक्रिया