
जाजरकोट । यहाँका वनजङ्गल जथाभाबी फँडानी गरिएका छन् । शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट बिचौलिया र उपभोक्ता समितिको सेटिङमा सल्ला, चोत्रालगायतका बोट फँडानी गरिएका हुन् । बिचौलियाको प्रलोभनमा परेपछि जथाभाबी वन फँडानीको क्रम तीव्र भइरहेको सर्वसाधारण बताउँछन् ।
शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका वन उपभोक्ता समितिलाई डिभिजन वन कार्यालयबाट अनुमति लिएको भन्दै जथाभाबी वनजङ्गल विनाश हुने क्रम बढेको छ । उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट रुख काट्न अनुमति पाएपछि ठुलो सङ्ख्यामा सल्लाका रुख फँडानी गरी सडक छेउछाउ र जङ्गलमा फालिएको छ । विगत वर्षमा काटिएका रुखका गिन्टा नउठाएपछि जङ्गलमा कुहिएका छन् ।
शिवालय, जुनीचाँदे, कुसे गाउँपालिकामा चोत्राका जरासमेत निकाल्ने क्रम बढेको छ । शिवालय गाउँपालिका–५ का कृष्णबहादुर शाहीले डिभिजन वन कार्यालय, उपभोक्ता समिति, बिचौलियाका कारण सल्लाका रुख, चोत्राका जरा जथाभाबी निकाल्ने गरे पनि सरोकारवाला निकाय मौन भएको आरोप लगाएका छन् । अवैध रूपमा बिचौलियाको प्रलोभनमा परी वन फँडानी हुँदै गएपछि सर्वसाधारण चिन्तित भएका छन् । उनका अनुसार बुट्यान र रुख एकैसाथ नष्ट हुँदै गएपछि वनपाखा उजाड बनेका छन् ।
चुत्रोको फल पाकेपछि खाने, पशुचौपायाबाट अन्नबाली जोगाउन बार लगाउने, चराचुरुङ्गीले आहार र बास गर्ने भए पनि फँडानीले चराचुरुङ्गीसहित मानव प्राणी सङ्कटमा पर्ने अवस्था आएको छ । आँखा, कलेजो, छालासम्बन्धी रोगका बिरामीले चुत्रो प्रयोग गर्छन् । वनपाखा उजाड हुने गरी वन उपभोक्ता समितिको मिलेमतोमा चुत्रोको जरासमेत निकाल्ने क्रम बढेको छ । ठेकेदारले आर्थिक लाभ देखाएपछि सर्वसाधारणले धमाधम खन्ने गरेका छन् ।
जनतालाई तत्काल आर्थिक लाभ भए पनि वातावरणमा गम्भीर असर पर्ने, दीर्घकालीन रूपमा आम्दानीको स्रोत बन्द हुने, स्वास्थ्य सन्तुलित राख्ने चुत्रोका बोट नपलाउने गरी नष्ट हुँदा पनि सम्बन्धित निकाय मौन बसेको छ । वनजङ्गल, घरवरिपरि पाइने चुत्रो जथाभाबी निकाल्न थालेपछि बर्खामा पहिरोको जोखिम बढेको छ ।

नेपालीरैबार । २०८१ चैत्र १८, सोमबार