
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी संरक्षण आयोजना कार्यान्वयन गर्न लागेको छ । बढ्दो जनसङ्ख्यालाई दृष्टिगत गरेर व्यवस्थित राजधानी निर्माण गर्ने योजना सरकारको छ । सोही नीति अनुरूप प्रदेश राजधानी संरक्षण आयोजना सञ्चालन गर्न लागिएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर आयोजना निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । आयोजना निर्माणका लागि प्रिफिजिविलिटी अध्ययनको काम भएको मन्त्रालयका प्रवक्ता पदम देवकोटाले जानकारी दिए । यो आयोजना प्रदेश राजधानी संरक्षण गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ल्याइएको हो । आयोजनाको प्रिफिजिविलिटी अध्ययनको काम खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले गरेको छ । आयोजनाको प्रिफिजिविलिटी अध्ययन सकिएको निर्देशनालयका निर्देशक श्रीधर भट्टराईले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा प्रिफिजिविलिटी अध्ययन गरिएको हो ।
प्रदेश राजधानी संरक्षण आयोजना अध्ययनका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ । आयोजना अन्तर्गत बुलबुलेदेखि काँक्रेविहारसम्म आठ सय मिटर सडकलाई व्यवस्थित गरिने छ । पर्यटन प्रवर्धन गर्नका लागि सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र बुलबुलेदेखि काँक्रेविहारसम्म संरचना निर्माण गर्न लागिएको हो । उक्त क्षेत्रमा आठ सय मिटरसम्म पर्खाल निर्माणलगायतका काम गरिने निर्देशक भट्टराईले बताएका छन् । पर्खाल, पुल निर्माणका लागि करिब ३० करोडको लागत अनुमान गरिएको उनले जानकारी दिए ।
प्रदेश राजधानी संरक्षण योजना अन्तर्गत बुलबुलेदेखि काँक्रेविहारसम्मको दुरी सहज बनाउने गरी सडकलाई व्यवस्थित गर्न लागिएको छ । यी संरचना निर्माण गरेपछि बुलबुलेबाट काँक्रेविहार सहज रूपमा आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको छ । एउटा पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलसम्म पुग्नका लागि दुरी लामो हुँदा पर्यटक अलमलमा पर्ने र असहज रूपमा पुग्ने गरेका थिए । पर्यटन प्रवर्धन गर्ने र प्रदेश राजधानीलाई व्यवस्थित गर्ने योजना अनुरूप संरचनाहरू निर्माण थालिएको हो ।

नेपालीरैबार । २०८१ चैत्र १८, सोमबार