मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि स्ववियु चुनाव, आज मतदान प्रक्रिया जारी

सुर्खेत । ६ वर्षपछि हुन लागेको मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव अन्तर्गत आज मतदान चलिरहेको छ ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेपनि केही ढिलोगरी मतदान सुरु भएको छ । ४ हजार ३८३ मतदाता सङ्ख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । दुबै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरूमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य चयन हुन्छन् । लामो समयपछि विद्यार्थीहरू हर्सोल्लासका साथ मतदानमा सरिक भएका छन् । मतदान गर्नेमा प्रदेश सभाका सांसद (विद्यार्थी)हरू रहेका छन् । यस्तै नेताहरू मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् ।

एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही, माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन बिसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चीनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् । यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया