
सल्यान । लागुऔषधसहित प्रहरीले सल्यानमा दुई जनालाई पक्राउ गरेको छ । लागु औषधसहित प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको मुख्य बजार सल्लीबजारबाट बन्गाड कुपिण्डे नगरपालिका–१ की वर्ष ३८ की भूमा बुढाथोकी र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ का ६५ वर्षीय भद्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
नेपालगन्ज जाँदै गरेको भे १ ख ४००८ नम्बरको गाडी जाँच गर्दा बन्गाड कुपिण्डे नगरपालिका १ की भूमा बुढाथोकीको झोलाभित्र प्लास्टिकको डिब्बामा लुकाइ ल्याएको ३ किलो चरेसजस्तो देखिने कालोपदार्थ फेला परेपछि महिलालाई गाडीबाटै र पुरुषलाई लागु औषध कारोबारमा संलग्न भएको गोप्य सूचनाको आधारमा घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताएका छन् ।
पक्राउमा परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको र प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । उनीहरुले प्रयोग गरेका गाडी समेत नियन्त्रणमा लिएको उनको भनाइ छ ।

नेपालीरैबार । २०८१ चैत्र २९, शुक्रबार