प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा निजामती संगठनले दियो सुझाव संकलन

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनले आगामी नीति, कार्यक्रम तथा बजेटको प्रारुपका बारेमा कर्णाली प्रदेश सरकारलाई सुझाव दिएको छ । नेपाल निजामती कर्मचारी संगठनले आगामी नीति, कार्यक्रम तथा बजेटको प्रारुपका बारेमा कर्णाली प्रदेश सरकारलाई सुझाव दिन राय संकलन गरेकाे छ । शुक्रबार संगठनले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाको पूर्वसन्ध्यामा प्रदेश सरकारलाई सुझाव दिएको हो ।

संगठनको कर्णाली प्रदेश कार्य समितिको तर्फबाट प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटका सन्दर्भमा सुझाव दिन आयोजित अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले आवश्यकता र अनुभवका आधारमा सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

सरकारले समृद्धिको दुरदृष्टिसहित भिजन प्रस्तुत गर्ने उल्लेख गर्दै कार्यान्वयनको तहमा रहेको कर्मचारीतन्त्रले सरकारलाई पूर्णरुपमा सहयोग गरे नागरिकका अपेक्षा पुरा हुने उनले बताए । राजनीतिक नेतृत्व र कर्मचारी संयत्रको एउटै उद्देश्य नागरिकलाई सहज सेवा प्रवाहसँगै देश विकास रहेको उल्लेख गर्दै आफुले लिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्नुपर्ने बताए ।

यस्तै, नेपाल निजामती कर्मचारी संगठनका कर्णाली प्रदेश अध्यक्ष राजेश आचार्यले लहडमा नभई कर्णालीको वास्तविक अवस्थालाई सम्बोधन गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए । सरकारका नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमा कर्मचारीतन्त्र प्रतिवद्ध रहेको उल्लेख गर्दै संगठनले दिएका सुझाव अनुसार अघि बढे लक्ष्य प्राप्त हुने उनले बताए ।

कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहमा विभिन्न सेवा समुहमा कार्यरत २७ जना उच्चपदस्थ कर्मचारीहरुले विगतको कार्यानुभवका आधारमा सरकारले तय गरिरहेको आगामी वर्षको बजेटका बारेमा आवश्यक सुझाव दिएका थिए । कार्यक्रममा पेशागत महासंघ नेपालका सचिव शिवप्रसाद सापकोटा, सह–ईन्चार्ज डोरप्रसाद उपाधयाय, संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश, जिल्ला र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । प्रदेश तहमा पहिलो पटक आयोजना गरिएको बौद्धिक बहस कार्यक्रमको सञ्चालन संगठनका प्रदेश महासचिव प्रकाश शर्मा अधिकारी गरेका थिए ।

तपाईको प्रतिक्रिया