सल्यान । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाका किसानले लगाएको वर्खे आलुमा किराको प्रकोप देखिएको छ ।
आलु बेचेर नै जिविकोपार्जन गर्दै आएका किसानले १७ हेक्टर जग्गामा लगाएको वर्खे आलुमा किराको प्रकोप देखिएको हो । वर्खे आलुमा किराको प्रकोप देखिएपछि निगालचुलाका ६८ किसान परिवार प्रभावित भएका छन् । वर्खे आलुबाट वार्षिक २ करोड भन्दा बढी भित्र्याउदै आएका किसान यसपटक किराको कारण मारमा परेका छन् । झसिलकिराको लार्भा जस्तो देखिने किराले आफ्नो सात रोपनी जग्गामा लगाएको आलुका पात, कलिला डाठ खाएर सखाप पारेको र बोट सुक्न थालेको किसान जीतबहादुर ओलीले बताएका छन् । सुरुसुरुमा दुई/चार वटा बोटमा देखिँदा खासै मतलव नगरेको र अहिले सबैजसो बोट किराले खाएको उनले जानकारी गराए । यो भन्दा अघि यस्तो किराको प्रकोप देखिएको थिएन । फेद कटुवा किराले अलि अलि क्षति गर्थ्यो, जैविक विषादी प्रयोग गर्दा ठिक हुन्थ्यो । अहिले विषादी प्रयोग गर्दा पनि किरा हराएको छैन, उनले भने, वर्खे आलु उत्पादन गरी आम्दानी भएको रकमले घर खर्च चल्थ्यो । धेरैजसो बोट सखाप भैसकेकाले कसरी घर खर्च चलाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
झन्डै एक महिना यता किसानले लगाएको आलुबालीमा किराको प्रकोप देखिएको र धेरै जसो सखाप पारेको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । किसानले विषादी छरे पनि किरा नमरेर झनै फैलिएपछि कर्णाली प्रदेशको एकीकृत प्रयोगशालाको विज्ञ टोली आएर स्थलगत अनुगमन गरेको उनले जानकारी गराए । प्रत्येक किसानले वर्खे आलु लगाएर वार्षिक ४ देखि ५ लाखसम्म कमाउँदै आएका थिए । यसबाटै धेरै परिवारको रोजिरोटी चलेको थियो । किराले कलिलो मुन्टा, पात खादा बोट सुक्दै गएका छन् । किराले आलु सखाप बनाउन थालेपछि उत्पादन धेरै घट्ने मात्र नभई किसानले आलु लगाएको खर्चसमेत नउठ्ने देखिएको छ, उनले भने । बन्गाड कुपिण्डे नगरपालिकाका कृषि शाखा प्रमुख नारायण बेल्बासेले वर्खे आलुमा देखिएको किराको प्रकोपका कारण किसान समस्यामा परेका र किसानले १७ हेक्टरमा लगाएको मध्ये झन्डै ४ सय रोपनीमा पूर्ण रुपमा क्षति पुर्याएको बताए । किराले आलुका बोटका कलिलो मुन्टा, पात खाएको उनले जानकारी गराए । विशेष गरेर आलु भण्डारणका बेला पुतली किराको प्रकोप देखिने गर्छ । किसानले ध्यान नदिएर किरा लागेको आलुको बीउ लगाउँदा लार्भाबाट वयस्कमा परिणत भई सो वयस्कले आलु बालीको पातमा फूल पार्दा किराको प्रकोप फैलिएको हुनसक्छ, उनले भने । किराले आलुमा धेरै क्षति पुर्याएको र समस्याको रुप लिएपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाबाट विज्ञ टोली बोलाई अनुगमन गरेर उपचार सुरु गरिएको उनको भनाइ छ ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायले जलवायुको परिवर्तनका कारण लामो समय वर्षात नभएको र किसानले क्षतिग्रस्त बीउ लगाएकै कारण किराको प्रकोप देखिएको बताए । क्षतिग्रस्त बीउमा रहेको किराको लार्भा वयस्क पुतलीमा परिणत भई पातमा फूल पार्दा त्यसबाट निस्केको लार्भाले आलुबालीमा क्षति पुर्याएको उनले जानकारी दिए। उनका अनुसार अनुगमन पश्चात किराको प्रकोप रोक्न निम तेल, पि.टी.एम. ल्युर र विषादी वितरण गरेर छर्न लगाएका छौं । विभिन्न प्रविधिको प्रयोग गरेर प्रकोप नियन्त्रणको प्रयास भैरहेको छ । विषादी छर्नका लागि किसानलाई निःसुल्क टयांकी उपलब्ध गराएका छौं ।

नेपालीरैबार । २०८२ बैशाख १५, सोमबार