तेस्रो रुकुम कप भलिबलको उपाधी बौदीकाली गाउँपालिका नवलपुरलाई

रुकुम पश्चिम । कर्णाली प्रदेशकै सर्वाधिक राशिको तेस्रो रुकुम कप भलिबलको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले जितेको छ ।

यही जेठ १८ गतेदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिक १ मा सञ्चालन भएको खेलअन्तर्गत सोमबार बेलुका भएको फाइनलमा हाम्रो सरोकार रुकुम पश्चिमलाई पराजित गर्दै बौदीकालीले उपाधी हात पार्न सफल भएको हो । बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेर जित हाँसिल गरेको आयोजक रुकमु पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिए । विजेता बौदीकालीले नगद पाँच लाख ११ हजार र उपविजेता हाम्रो सरोकारले नगद दुई लाख ६१ हजारका साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । तेस्रो बनेको टिम खनाल रुकमुपश्चिमले एक लाख ५१ हजार र सान्त्वना स्थानमा रहेको टिम वनगाड सल्यानले एक लाख ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।

महिलातर्फको खेलमा बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले उपाधी हात पारेको छ । फाइनलमा जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोटले उपाधीमा कब्जा जमाएको हो । उसले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता जनज्योतिले नगद ७५ हजार, ट्रफि मेडल र प्रमाणपत्र र तेस्रो बनेको रुकुम भलिबल टिमले नगद ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । चौथो भएको सीमा भलिबल क्लब रुकुम पूर्वले २५ हजार नगद पुरस्कार हात पारेको छ ।

  • हिमाल र सीता सर्वोत्कृष्ट

यस प्रतियोगिताको पुरुषतर्फको खेलमा सर्वोत्कृष्ट घोषित बौदिकाली नवलपुरका हिमाल सुनारीले नगद दस हजार र ट्रफि प्राप्त गरेका छन् । हाम्रो सरोकारका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर, हाम्रो सरोकारकै विष्णु बस्नेत उत्कृष्ट सर्भर, टिम खनालका पहल गहतराज उदीयमान खेलाडी, टिम बौदीकालीका राजन दर्लामी उत्कृष्ट डिभेन्डर, बौदीकालीकै विवश आले मगर उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर टिम खनालका सफल विश्वकर्मा र उत्कृष्ट कोच टिम बौदीकालीका कुन्जन शाही बनेका छन् । उनिहरुले समान पाँच हजार र ट्रफि प्राप्त गरेका छन् ।

महिलातर्फ सर्वोत्कृट बनेको टिम बाँफिकोटका सीता सिंहले नगद पाँच हजार र ट्रफि प्राप्त गरेकि छन् । महिलातर्फ उदीयमान खेलाडी बाँफिकोटका हरिमाया ओली, उत्कृष्ट डिफेन्डर बाँफिकोटकै मोनिका विष्ट, उत्कृष्ट सेटर पनि बाँफिकोटकै पूर्णकला खत्री, वेष्ट स्पाइकर उक्त टिमकै करिष्मा थापा, उत्कृष्ट ब्लकर जनज्योति युवा विकास केन्द्र रुकुमपूर्वका धनमाया नाथ, उत्कृष्ट सर्भर पनि उक्त टिमकै सुनकुमारी सुनार र उत्कृष्ट कोच बाँफिकोटका पोषण मल्ल घोषित भएकि छन् । उनिहरूले समान तीन हजार र ट्रफि प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । तेस्रो रुकुम कप भलिबलको मुख्य प्रायोजक मुसीकोट नगरपालिका –१ स्थित साझा मुराल अस्पताल प्रा.लि. रहेको थियो ।

तपाईको प्रतिक्रिया