जुम्ला । जुम्ला जिल्लाको चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्धारा संचालित चन्दननाथ अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको छ ।
सहकारीका सदस्यहरुलाई कृषिमा आर्कषित गर्न बचतका रुपमा बाली खरिद गर्ने,बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले संचालन गरिएको अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको हो । २०६४ मै अर्गानिक जिल्ला घोषणापछि जुम्लाको उत्पादनलाई रुचाउन थालिएको छ । घरमै थन्कीने रैथाने उत्पादनलाई चन्दननाथ मिनि मार्केट संचालनपछि बजारीकरणमा टेवा समेत पुगेको छ । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाले २०७४ फागुन महिनादेखी मिनि मार्केट मार्फत रैथाने वस्तुको लेवलिङ र प्याकेजिङ गरेर विक्री गर्न थालेको हो । मिनि मार्केटबाट प्राप्त २०७६ देखी हाल सम्मको विवरणनुसार १० करोड बराबरको सिमी,चामल,ओखर,भट्मास,स्याउका चाना,चिनु कागुनो,गहत,जौको पिठो लगायतका वस्तु विक्री तथा निर्यात भएको छ । जुम्ला आउने पर्यटकदेखी यहाँ कार्यरत कर्मचारीहरु गृहजिल्ला फर्किदा जुम्लाको नासो स्वरुप अर्गानिक खाद्य वस्तु खरिद गरेर लिने गरेका छन् । सबै वस्तु एकै ठाउँमा पाईने भएपछि पर्यटकलाई पनि राहत भएको छ ।
मिनि मार्केट संचालन भएयता १० करोड बढीको अर्गानिक खाद्य वस्तु विक्री भएको चन्दननाथ सहकारीका व्यवस्थापक रिसिराम पाण्डे बताउँछन् । उनी भन्छन,‘सहकारीमा २० हजारबढी सदस्य आबद्ध छन् । मिनि मार्केटमा सहकारी सदस्यको उत्पादन खरिद गर्छौ । उनिहरुले चाहेमा हातमै पैसा लिन्छन् । आबश्यक नपरे खरिद गरेको वस्तुको रुपैयाँ सदस्यको खातामा बचत हुन्छ । उत्पादनले बजार र मुल्य पाएपछि सहकारीका सदस्यहरु कृषिमा हौसिएका छन् । अहिले अन्य किसान पनि आफै वस्तु विक्री गर्न मिनि मार्केटमा आउँछन् । तर माग अनुसार अझै पुराउन सकिएको छैन् । हाल सहकारी मार्फत कालिकोट,नाग्म बजार,प्रदेश राजधानी सुर्खेत,संघिय राजधानी काठमान्डौँ लगायतका स्थानमा समेत अर्गानिक मिनि मार्केट संचालन भएको छ । यसले अर्गानिक रैथाने बालीको बजारीकरणलाइ थप विस्तार गरेको छ । भने हरेक राष्ट्यि स्तरका कार्यक्रमहरुमा मायाको चिनोका रुपमा समेत पठाउने गरिएको छ । दशै तिहारका बेला पर्यटकको घुईचो लाग्ने भएकाले सामान पुराउनै मुस्किल हुने गरेको छ ।
- करोडौको रैथाने अन्न विक्री
विगतका वर्षमा घरमै थन्कीउने रैथाने अन्नबाली विक्री हुन थालेपछि जुम्लाका किसान आत्मनिर्भर हुन थालेका छन् । वस्तु रुपैयाँमा विनिमय हुन थालेपछि आम्दानी समेत बढेको छ । विगतमा रुपैयाँ नभई सहकारीमा नियमित बचत हुन्थेन् । ऋण गरेर बचत गर्नुपर्ने किस्ता तिर्नु पर्ने अबस्था थियो । तर चन्दननाथ सहकारीले रैथाने उत्पादनलाई रुपैयाँमा विनियमय गर्न थालेपछि सहज भएको छ । मिनि मार्केटबाट प्राप्त विवरण अनुसार २०७६ यताका सात वर्षमा १० करोड बराबरको अर्गानिक वस्तुको विक्री तथा निर्यात भएको छ । जसमा सबैभन्दा बढी सिमि,ओखर र मार्सी चामल विक्री भएको छ । जसमा एक करोड ७५ लाख ५० हजार रुपैयाको आठ हजार मेट्रिकटन सिमि,एक करोड २६ लाख बराबरको दाँते ओखर र ८१ लाखको मार्सी चामल विक्री भएको छ । त्यस्तै ७२ लाखको स्याउको चाना,५७ लाख ६० हजारको जिम्बो,२१ लख ६० हजारको टिमुर, ६० लाख १० हजारको चिनुको चामल, ५७ लाख ५० हजारको कागुनो, ५४ लाखको फापरको पिठो विक्री भएको छ । साथै १३ लाख ५० हजारको कोदोको पिठो,१६ लाख २० हजारको अर्गानिक जडिबुटी चिया,१३ लाख ५० हजारको जौको पिठो,१८ लाख ९० हजारको सेतो भट्ट,२४ लाख ५० हजारको गहत,१७ लाख ५० हजारको गुराउँस,एक लाख १२ हजारको कला विक्री भएको मिनि मार्केटले जनाएको छ ।
गहत र गुराउँस पत्थरी,मृगौला रोगी तथा मुटु दुख्ने बिरामीका लागि औषधी समेत हुन्छ । भने कृषि विकास कार्यालयको विवरणनुसार ०८१÷०८२ मा मात्रै ३६ लाख ४८ हजारको ६ सय ८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडी पाखी निर्यात भएको छ । त्यस्तै ३ सय ८० मेट्रिक टन हिमाली भेडाको ऊनको कोटेपाखो विक्रीबाट ६८ लाख ४० हजार रुपैयाँ जुम्लामा भित्रिएको छ । भने १२ लाख ३६ हजारको खरायोको टोपी, १३ लाख २० हजारको खसीको मासु समेत निर्यात देखिन्छ । यसरी जुम्लाबाट वर्षेनी करोडौको अर्गानिक खाद्यन्न वस्तु विक्री तथा निर्यात हुने भएपनि सरकारले जुम्लाको रैथाने वालीको उत्पादन बढाउन ठोस नीति र कार्यक्रम ल्याउन सकेको छैन् । प्राकृतिक प्रकोपबाट पिडित किसानले राहत नपाउने,स्याउको सिजनमा बजार मुल्य नपाउने, रोग किरा लागेमा समयमै उपचार नपाउने जस्ता समस्या किसानले भोगिरहेका छन् । तथापी चन्दननाथ मिनि मार्केट संचालनपछि रैथानेबालीबालीको खरिद विक्री बढ्दा समस्याका बीच पनि किसान रैथाने बाली उत्पादनमा खटिएका छन् ।

नेपालीरैबार । २०८२ जेष्ठ २९, बिहीबार