जुम्लाका कृषकको अनुभव आदानप्रदान तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

जुम्ला । जुम्लाका कृषकको अनुभव आदानप्रदान तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ २७ पेस नेपाल, जुम्लाको आयोजनामा नर्वेजियन सरकार र युएनडिपीको आर्थिक सहयोगमा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजना सञ्चालनमा छ । सोही परियोजना अन्तर्गत तरकारी उत्पादन पकेट क्षेत्रको कृषकले अनुभव आदानप्रदान तथा अवलोकन भ्रमण गरेका हुन् । चन्दननाथ नगरपालिका–१, तलिचौर, ९ नम्बर वडाको बयालकाटिया र तातोपानी गाउँपालिका–२ जर्मी गाउँको तरकारी उत्पादन पकेट क्षेत्रको अनुभव आदानप्रदानसहित अवलोकन भ्रमण गरिएको परियोजना संयोजक हरि शर्माले बताए । उनले भने, स्थानीय कृषकलाई आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रत्यक्ष सिक्ने अवसर प्रदान गरिएको छ । भ्रमणमा सहभागी कृषकले कृषक पाठशाला, जैविक खेती, थोपा सिंचाइ, प्लास्टिक टनेल, गोठ सुधार, झोलमल र जैविक विषादी निर्माण लगायतका गतिविधिको अवलोकन गरेका छन् । उक्त कार्यक्रममा चन्दननाथ नगरपालिका वडा नं. १ का अध्यक्ष, कृषि शाखा प्रमुख तथा प्रतिनिधिहरू, कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र राजीकोट र विजयनगरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै तलिचौर प्रगतिशील कृषक समूह, महिला जागरण कृषक समूह, बयलकाटिया र तातोपानीका कृषक समूहहरूको सक्रिय सहभागिता रहेको थियो ।

मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि तलिचौर, बयालकारिटया र जर्मी गाउँको खेतीयोग्य क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विकास गरिएको कृषि विकास कार्यालय जुम्लाका अधिकृत लक्षिराम महतले बताए । उनले भने, यसका लागि कृषकलाई टनेल निर्माण, थोपा सिंचाइ जडान, मल्चिङ प्रविधि, उन्नत बीउ वितरण, गोठ सुधार, झोलमल उत्पादन तालिम लगायतका विविध सहयोग उपलब्ध गराइएको छ । यस्ता अनुभवन तथा अवलोकन भ्रमण कार्यक्रमले कृषकमा सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै दिगो कृषि प्रणालीतर्फ मार्गदर्शन गर्ने विश्वास गरिएको छ । चन्दननाथ नगरपालिका – १ का वडाध्यक्ष तिलक प्रसाद न्यौपानेले कृषकहरुले तरकारी खेतीतर्फ बढी चासो राख्दै आएका छन् । उनले भने, तरकारी उत्पादनमा बृद्धि हुनुका साथै स्थानीयले आम्दानीमा पनि राम्रो गरेका छन् । आयातित तरकारी भन्दा स्थानीय स्तरमै उत्पादन भएको विषादी रहित तरकारी खानु राम्रो छ ।

स्थानीय स्तरमा तरकारी खपत नभएपनि बाहिर जिल्लाका बजारमा पठाउन सकिन्छ । माग पनि भईरहेको छ । यसै हस्ता तलिचौरका किसानले १० कुन्टर तरकारी फर्सी सुर्खेत पठाएका छन् । अझै माग आएको छ । पठाउने तयारी गरिएको उनले बताए । भ्रमणले कृषकमा नवीनतम कृषि प्रविधिप्रति चासो तथा रुचि बढाएको र दीर्घकालिन रूपमा खाद्य सुरक्षामा योगदान पुग्ने अपेक्षा गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । कृषक, कृषि विज्ञ तथा आयोजन टोलीबीच समिक्षा तथा अनुभव आदानप्रदान गरिएको थियो । किसानले लिवर्डले सञ्चालन गरेको चन्दननाथ नगरपालिका ९ बयालकाटिया गाउँमा रहेको तरकारी खेती र कृषि अनुसन्धान बागवानी राजीकोटको पनि अवलोकन भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया