दैलेख । दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं–२ का वडाध्यक्ष रेशमबहादुर थापा राजनीतिकसँगै कृषि पेसामा रमाइँरहेका छन् ।
मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका कृषक थापा कृषि पेसाबाट नाम र दाम दुवै कमाएका छन् । उनले जिल्लामा राजनीतिक सँगसँगै कृषि पेसामा अब्बल कृषकको पहिचान बनाएका छन् । उनले वार्षिकरुपमा १५ लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् ।
दुई दशकदेखि तरकारी खेतीमा संलग्न वडाध्यक्ष थापा बिहान ४ बजेदेखि आफ्नो तरकारीबारीमै व्यस्त हुन्छन् । जिल्लामा व्यावसायिक रूपमा कृषि व्यवसाय गरेर उदाहरणिय काम गरेका थापा ठीक १० बजे वडा कार्यालय पुग्छन् । जनताको सेवामा सक्रिय वडा अध्यक्ष थापा वडाको काम सकिएपछि साँझको समय तरकारी बारीमै व्यस्त हुन्छन् । उनले उदाहरण दिएर युवाहरुलाई कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनितिसँगै यो पेशा अङ्गालेको बताए । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । भविष्यको योजना सुनाउँदै उनले तरकारी खेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने सोच रहेको बताए । पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको उनको भनाइ छ । पछिल्लो समयमा राजनीतिकर्मिहरुलाई आर्थिक समस्या देखिने भएकाले आफ्नो जिविकोपार्जन गर्नका लागि कृषि फार्म सञ्चालनमा ल्याएको हुँ । वडाध्यक्ष थापाले भने, आफुले कृषि व्यवसाय सुरु गरेको कृषिबाट गरे देखि नै भने जस्तै आम्दानी भएको छ ।
तरकारी खेतीबाट हुने आम्दानीले परिवारको खर्च चल्ने समेत गरेको उनले बताए । गाउँकै सहकारी बाट ६ लाखभन्दा बढी ऋण लगेर र आफ्नो डेढ लाख लगानी गरी कृषि पेसा अङ्गालेका वडा अध्यक्ष थापाले आफ्नै ५० रोपनी जग्गामा तरकारी खेती गरेका छन् । बाह्रै महिना तरकारी खेती गर्दै आएका उनको बारीमा अहिले काउली, बन्दा, गोलभेडा, खुर्सानी, मुला, धनियाँ र टमाटर लटरम्म फलेको छ । ३३ वर्ष शिक्षण पेसामा सेवा गरेका वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनदेखि नारायण नगरपालिका–२ को वडाध्यक्षमा लगातार विजयी भएका छन् । यस फर्ममा अहिले चार जनाले रोजगारी पाएका छन् ।

नेपालीरैबार । २०८२ जेष्ठ ३०, शुक्रबार