कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप पालिका हाम्रो प्रतिबद्वताु भन्ने मुल नाराका साथ गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीको सभा अध्यक्षतामा बिहीबार घोषणा गरिएको हो ।
गाउँपालिकाका ८ वटै वडामा सबै बालबालिकालाई खोप लगाएपछि शुभकालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताएका छन्। पूर्णखोप सुनिश्चितताका लागि सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराई सुनिश्चितता गरिएपछि घोषणा गरिएको हो । खोप सुनिश्चिततालाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । गाउँ पालिकाको केन्द्र सुकाटीयामा बिहीवार आयोजित ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा’ मा बोल्दै स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले नागरिकलाई आवश्यक सबै खोपहरू उपलब्ध गराउन पालिका सफल भए पछि घोषणा गरिएको जानकारी दिए ।
सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई २०८२ वैशाख ३१ गते खोप लगाइएको छ । उनले भने यहाँका ८ वटै वडाहरूलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि पालिका घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत विकले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने वडाहरूलाई सम्मान पत्र दिइन् । कार्यक्रममा बोल्दै गाउँपालिक उपाध्यक्ष शाहीले पालिका स्तरबाट नमुना सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई खोप दिएर घोषणा गरिएको छ ।

नेपालीरैबार । २०८२ जेष्ठ ३०, शुक्रबार