सुर्खेत । प्रदेश सरकारको योजनामा बालबालिकाका विषय प्राथमिकतामा नपर्ने गुनासो विगतदेखि नै सुनिने गरेको छ । यस्तै गुनासोलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिका लक्षित योजना र कार्यक्रम समावेश गरेको जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८२–८३ का लागि जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा बालबालिका लक्षित कार्यक्रम समेटिएको हो । ११८ बुँदे सकारको नीति तथा कार्यक्रममा बालबालिकासम्बन्धी बुँदाहरू १७ वटा रहेका छन् । बुँदागत रूपमा हेर्ने हो भने समग्र नीति तथा कार्यक्रमको आधारमा १४.४० प्रतिशत बालबालिकाका लक्षित कार्यक्रम समेटिएको देखिन्छ । बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका संयोजक टेकराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिकाका लक्षित कार्यक्रम केही हदसम्म समेटिएको बताए । त्यसो त विगतमा पनि नीति कार्यक्रममा समेटिने गरिएको तर बजेटमा नपर्ने गरेका उदाहरण रहेको स्थानीयको गुनासो छ । आचार्य पनि अघिल्ला वर्षहरूमा समेत बालबालिका लक्षित कार्यक्रम नीति तथा कार्यक्रममा आउने गरेको भए पनि बजेटमा भने नसमेटिएको तितो यर्थात रहेको बताए ।
नीति तथा कार्यक्रमको बुँदा नं. १, ६७, ६९, ७२, ७३, ७४, ०, ८६, ९७, ९, १०१, ११८ मा बालबालिका लक्षित कार्यक्रमलाई सम्बोधन गरिएको छ । यस्तै दफा ६२, ६४, ७१ मा बालबालिका लक्षित कार्यक्रम गर्नेगरी समेटिएको छ । बाल मृत्युदर न्यूनिकरणदेखि बालबालिकाको क्षमता विकाससम्मका कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ । नीति तथा कार्यक्रममा प्राथमिकता पाएका कार्यक्रमले बजेटमा पनि प्राथमिकता पाउने अपेक्षा सरोकारवालाले गरेका छन् । विगतमा बालबालिकाको क्षेत्रमा न्यून मात्र बजेट विनियोजन हुनेगरेको छ । प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दैआएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनअनुसार बजेटलाई विश्लेषण गर्दा विगतमा पनि बालबालिकाको क्षेत्रमा एक प्रतिशत मात्र बजेट विनियोजन भएको देखिएको छ ।
आर्थिक वर्ष २०७८–७९ मा प्रदेश सरकारले छुट्याएको ३ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कूल बजेटमध्ये १४ करोड ९० लाख १७ हजार ७७३ अर्थात् १.२८ प्रतिशत मात्र बालबालिकाको क्षेत्रमा विनियोजन भएको थियो । त्यसैगरी, २०७९–८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ । कूल बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार हुँदा बालबालिकाको क्षेत्रमा २ करोड १४ लाख २८ हजार ८०८ अर्थात् ०।६ प्रतिशत थियो । यस्तै, आर्थिक वर्ष २०८०–८१ मा बालबालिकाको क्षेत्रमा बजेट १.०७ प्रतिशत मात्र विनियोजन भएको छ । उक्त वर्ष सरकारले कूल ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये बालबालिकाको क्षेत्रमा ३५ करोड ५ लाख २५ हजार ५२ मात्रै विनियोजन भएको अभियानका कर्णाली प्रदेशका संयोजक आचार्यले बताउनुभयो । चालु आर्थिक वर्ष २०८१–८२ मा ५८ करोड ९६ लाख मात्र विनियोजन गरिएको छ । बजेट विश्लेषण गर्दा बाल अधिकारका चार क्षेत्रलाई समावेश गरिएको थियो । विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिकाको क्षेत्रको बजेट मानिएको छ ।
कर्णालीको कूल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८ हजार ४१२ छ । २०७८ सालको जनगणना तथ्याङ्कअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको संख्या बढी छ । तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन् ।

नेपालीरैबार । २०८२ जेष्ठ ३०, शुक्रबार