मध्यरातमा कर्णाली सरकारले ल्यायाे ३२ अर्ब ९९ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मध्यरातमा  बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्।

बजेटमा प्रदेश सरकारले चालु खर्चका लागि ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगत खर्चका लागि १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ। साथै, वित्तीय व्यवस्थामा ६१ करोड ५० लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ छुट्याइएको छ।

राजस्व र अनुदानमार्फत बजेट खर्चको स्रोत सुनिश्चित गरिएको छ। यसअनुसार, कर राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब २७ करोड ३० लाख, समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, प्रदेश सरकारले आन्तरिक राजस्व स्रोतबाट ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपैयाँ संकलन हुने अपेक्षा गरेको छ भने वैदेशिक सहायता मद्दतबाट १ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया