सारङ्गी संरक्षण र जनचेतना फैलाउँदै मेची महाकाली अभियान

सुर्खेत ।

एउटै घरमा नखेलौँ जुहारी

छोरी सरह मानौँ है बुहारी ।।

जनता हामी पहाडी दाजुभाइ

हिंसामुक्त बनाउन है समाजलाई ।।

यस्तै सचेतनाका गीत गाउँदै गाउँबस्तीमा शिक्षा तथा वातावरणलगायत जनचेतना जगाउन बाँके कोहलपुर नगरपालिका–११, गन्धर्व बस्तीका चार जना गन्धर्वको सांस्कृतिक टोली सारङ्गी बजाउँदै मेची महाकाली अभियानमा हिँडेको छ । गत जेठ २९ गतेदेखि दिलबहादुर गन्धर्वको नेतृत्वमा टोली मेची महाकाली अभियान अन्तर्गत सुर्खेत आइपुगेका छन् । दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व, दलबहादुर गाइनसहितको टोलीले सारङ्गी बजाएर शिक्षा, वातावरण र जनचेतनामूलक गीत गाउने गरेको छ । सचेतनाका साथै परम्परागत बाजा सारङ्गीको संरक्षण र संवर्धन गर्ने उद्देश्य पनि सो टोलीको रहेको छ । लोप हुन थालेको सारङ्गीलाई नयाँ पुस्ताले बजाउन छोडेको भन्दै दिलबहादुरले यसको संरक्षण र संवर्धन गर्नु पनि मेची महाकाली अभियानको उद्देश्य रहेको बताए । विगतमा गन्धर्वले विभिन्न घटनालाई गीतका माध्यमबाट कथा बनाएर सर्वसाधारणलाई सुनाउने गर्दथे । दिलबहादुर भन्छन्, धेरै पहिले गन्धर्व नै खबर सुनाउने पत्रकार थिए, अहिले यो समुदायले आफ्नो काम छोड्न थाल्यो । गन्धर्वको प्रमुख बाजा सारङ्गी पनि अहिलेको नयाँ पुस्ताले बजाउन छोडेको, बजाउन नजान्ने र बजाउने रुचि नभएको पाइएको भन्दै उनले यसको संरक्षण गर्नु पर्छ भन्ने भावना पनि जगाउने उल्लेख गरे ।

टोलीका अर्का सदस्य दलबहादुरले पनि सारङ्गी बजाउने गन्धर्वको सङ्ख्या अहिले कम भएको बताउँदै स्थानीय तहलगायतकाले सारङ्गी बजाउने सिपलाई प्रवर्धन गर्न आवश्यक रहेको बताए । उनले नयाँ पुस्ताले लाज मान्दा सारङ्गीप्रति आकर्षण नभएको पाइएको बताए । सारङ्गी जगाउने गन्धर्व समुदायको मात्र नभई अन्य समुदायको पनि भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । विगतमा सारङ्गी भगवान्को घरमा हुने गर्दथ्यो भन्दै उनले भने, किन्नरहरू नाचेर रमाइलो गर्दथे तर अहिले लोप हुने अवस्थामा छ, त्यसैले यो जोगाउनका लागि हामी मेची महाकाली अभियानमा हिँडेका हौँ । सुर्खेतसहित बर्दिया, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा जाने तयारी रहेको शेरबहादुरले बताए ।

तपाईको प्रतिक्रिया