सुर्खेत । पञ्चपुरी नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ११ लाख १५ हजार ३७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख मुक्ति रेग्मीले बजेट प्रस्तुत गरिन।
बजेटमा नगरवासीलाई प्रदान गरिने सेवा तथा सुविधाको गुणस्तरमा सुधार ल्याउन उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्ने र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने उल्लेख गरिएको छ ।
नगर प्रमुख लालबिर भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नगरलाई आत्मनिर्भर बनाउन कृषिजन्य तथा फलफुल उत्पादनमा विशेष प्रोत्साहन दिइनेछ । साथै, शिक्षा क्षेत्रमा लगानी बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
भौतिक पूर्वाधारको विकासमा पनि विशेष जोड दिइएको छ । आधारभूत संरचनाको निर्माणलाई प्राथमिकता दिँदै दिगो विकासलाई केन्द्रमा राखिएको छ ।
स्थानीय भेषभूषा, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने योजना समेत बजेटमा समेटिएको छ। सेवा प्रवाहमा सुधार, संस्थागत विकास र सुशासनलाई प्रोत्साहन गरिने बताइएको छ ।
स्वास्थ्य क्षेत्रमा सबै नगरवासीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने, विपन्न नागरिकका लागि घरमै बीमा गर्ने, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्था गरिनेछ ।
बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। युवाहरूलाई उद्यान तथा खेलमैदानको व्यवस्था गरी प्रशिक्षणको अवसर दिने योजना पनि समावेश गरिएको छ ।
स्थानीय परम्परागत सीपजस्तै आरण, सिलाई–कटाई, जुत्ता सिलाउने, डोको–नाम्लो, दुना–टपरी बुनाइ लगायतका व्यवसायलाई संरक्षण र प्रवर्द्धन गरिनेछ। फलफुल तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आत्मनिर्भरता अभिवृद्धि गर्ने नीति नगरपालिकाले लिएको छ ।

नेपालीरैबार । २०८२ असार १०, मंगलवार