सुर्खेत । सुर्खेत जिल्लाका सबै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक बजेटहरू पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित रहेको छन् । सबैभन्दा ठूलो बजेट वीरेन्द्रनगर नगरपालिकाले प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा कुल ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उप–महानगर बनाउने प्रतिबद्धता जनाए ।
शहरीकरणलाई अवसरको रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रूपमा विकास गर्ने लक्ष्य राखिएको बजेटमा २ अर्ब ७८ करोड ८४ लाख पूँजीगत खर्च र १ अर्ब ५९ करोड ४२ लाख चालू खर्च विनियोजन गरिएको छ । नगरले कर सुधार र आन्तरिक स्रोत विस्तार गर्दै ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको छ ।
त्यसैगरी, गुर्भाकोट नगरपालिकाले १ अर्ब १ करोड ६७ लाख ९५ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये ३९ करोड १ लाख पूँजीगत र ६१ करोड ८६ लाख ७२ हजार चालु खर्च रहेको छ । यसैगरी पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार, र भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको बजेट ल्याएका छन् । लेकबेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार ६ सय रुपैयाँ ९४३ करोड ४७ लाख चालु, बाँकी पूँजीगत बजेट ल्याएको छ ।
यस्तै बराहताल गाउँपालिकाले ६३ करोड ७ लाख ४ हजार ९ सय ९९ रुपैयाँ, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार रुपैयाँ ५२ करोड ६ लाख ८३ हजार चालु, ९ करोड ६ लाख ३६ हजार पूँजीगत रहेको छ । यस्तै चौकुने गाउँपालिकाले ५७ करोड, ल्याएको छ भने चिङ्गाड गाउँपालिकाले आफ्नो १९ औं गाउँसभाबाट ४० करोड ८६ लाख ४६ हजार २ सय ७ रुपैयाँको बजेट पारित गरेको छ ।
जसमा ३१ करोड ८३ लाख ९ हजार चालु र ९ करोड ३ लाख ३७ हजार २ सय ७ पूँजीगत खर्च छ। आन्तरिक राजस्वबाट मात्र २५ लाख उठाउने लक्ष्य लिएको गाउँपालिकाको बजेटमा संघीय र प्रदेश सरकारको अनुदान प्रमुख स्रोत रहेको छ । शिक्षामा २ करोड २७ लाख, सडक स्तरोन्नति, व्यावसायिक कृषि, नर्सरी, उद्यमशिलता र स्वास्थ्य सेवा विस्तारमा बजेट छुट्याइएको छ ।

नेपालीरैबार । २०८२ असार १०, मंगलवार