विश्व भलिबल दिवसमा कर्णालीमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

सुर्खेत । विश्व भलिबल दिवसको अवसरमा कर्णाली प्रदेश भलिबल सङ्घको आयोजनामा आज मिति २०८२ असार २३ गते मैत्रीपूर्ण महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ ।

नेपाल भलिबल सङ्घको निर्देशनअनुसार आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेश भलिबल सङ्घका सल्लाहकार डा. महेन्द्रकुमार मल्ल, चन्द्रकुमार गिरी तथा अध्यक्ष कृष्ण श्रेष्ठले मैनबत्ती बालेर तथा केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष सुबास जिसी, सदस्य भूपेन्द्र बिसी, वरिष्ठ प्रशिक्षक प्रदिप पुरी, तेक्वान्दो प्रशिक्षक भुवन थापा, भलिबल प्रशिक्षक मोतिराम रम्तेल तथा गणेश खनालको समेत उपस्थिति रहेको थियो ।

पुरुषतर्फको खेल कर्णाली प्रदेशका १० जिल्लाबाट खेलकुद शिक्षक तालिममा सहभागी खेलकुद शिक्षकहरू र चुली युवा क्लबबीच सम्पन्न भएको थियो । खेलमा चुली युवा क्लबले खेलकुद शिक्षक टोलीलाई २–१ को सेटमा पराजित गरेको थियो ।

त्यस्तै, महिलातर्फको खेलमा चुली युवा क्लब र जाजरकोटका महिला भलिबल खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा चुली युवा क्लबले जाजरकोट टोलीलाई पराजित गर्दै विजयी हासिल गरेको थियो । कार्यक्रमले कर्णाली प्रदेशमा भलिबल खेलप्रतिको रुचि र सहभागिता अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया