सुर्खेत । नेपाली क्रिकेटमा नयाँ उचाइ छुन थालेका युवा प्रतिभा विपिनप्रसाद शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलतासँगै सम्मानित भएका छन् । हालै सम्पन्न ACC Men’s U16 Zone Cup 2025 मा नेपाललाई उपाधि जिताउने कप्तानको भूमिकामा रहेका शर्माले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १७ विकेट लिएर Most Wicket Taker र Best Bowler को उपाधि जितेका थिए ।
उनको यो उल्लेखनीय सफलतालाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेशले एक विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेश सभापति मदन खड्काको प्रमुख आतिथ्यता, उपसभापति प्रेम बोहरा र प्रवक्ता हरिप्रसाद अधिकारी को विशेष आतिथ्यता रहेको थियो । सो अवसरमा जिल्ला कार्य समिति सुर्खेतका सभापति रमेश कुमार सापकोटा ले शर्मालाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
सभापति सापकोटाले शर्माले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएको भन्दै आगामी दिनमा अझ उज्वल भविष्यको शुभकामना व्यक्त गरे । उनले भने, विपिनले मुलुकको गौरव बढाएका छन्, यस्ता प्रतिभाको हौसला बढाउन सबैले ध्यान दिन जरुरी छ ।
विपिनको क्रिकेट यात्रा ट्यालेन्ट हन्ट बाट सुरु भएको हो । त्यसपछि उनले नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्स बाट खेल्ने अवसर पाए जहाँ उनले दुई पटक प्लेयर अफ द म्याच बन्ने सफलता पाए । त्यही लिगमा उनले इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट को उपाधि पनि जितेका थिए । अहिले उनी NPL सिजन २ का लागि समेत पुन: कर्णाली याक्सबाट छनोट भइसकेका छन् ।
सम्मान कार्यक्रममा शर्माका मामा अर्जुनप्रसाद शर्माले संयोजनको भूमिका निभाएका थिए । कार्यक्रममा स्थानीय राजनीतिक, सामाजिक तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले शर्माको लगनशीलता, अनुशासन र नेतृत्व क्षमताको प्रशंसा गर्दै भविष्यमा उनी राष्ट्रिय टिमको बलियो स्तम्भ बन्ने विश्वास व्यक्त गरे ।
उनको सफलता केवल व्यक्तिगत उपलब्धिमात्र नभई कर्णाली प्रदेश र सम्पूर्ण राष्ट्रका लागि प्रेरणाको स्रोत भएको सहभागीहरूले बताएका थिए । नेपाली खेलकुदको उज्ज्वल भविष्यका लागि यस्ता युवाको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेकोमा सबैको जोड थियो ।
सुर्खेतको माटोबाट उम्रिएको विपिनप्रसाद शर्मा नेपालको युवा खेल अनुहारका रूपमा स्थापित हुँदै गएका छन् । उनको आत्मविश्वास, मेहनत र निरन्तर अभ्यासले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

नेपालीरैबार । २०८२ असार ३०, सोमबार