काठमाडौँ । स्वस्थ रहनका लागि दिनमा कम्तीमा पनि १० हजार पाइला त हिँड्नै पर्छ भनेर हामीले यदाकदा सुन्दै आएका छौँ । कयौँ मानिस नियमित रूपमा कम्तीमा १० हजार पाइला पूरा गर्ने प्रयास पनि गर्छन् ।
तर केही मानिस त्यति धेरै सक्रिय हुँदैनन् । यतिको हिँडाई पूरा गर्न सक्दैनन् । हालै मेडिकल पत्रिका ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा दिनहुँ सात हजार पाइला मात्रै हिँड्दा पनि उमेर अगावै मृत्यु,हृदयघात, मधुमेह,मुटु रोग र क्यान्सरबाट बच्न सकिने उल्लेख गरिएको छ ।
यो तथ्यले अरू धेरै मानिसलाई व्यवहारिक हुने किसिमले हिँड्न र आफ्नो स्वास्थ्यमा सुधार ल्याउन प्रेरित गर्न सक्ने अनुसन्धाताहरू बताउँछन् ।
यो अध्ययन ५७ वटा अनुसन्धानमा आधारित छ । यी अध्ययनमा १ लाख ६० हजार भन्दा धेरै वयस्कहरूलाई समावेश गरिएको थियो । थोरै चपाइला मात्रै हिँडेर पनि स्वास्थ्यमा सुधार गर्न सकिने यस अध्ययनले देखाएको छ । जति सक्दो धेरै हिँड्न विज्ञहरूले सुझाएका छन् ।
दिनको २ हजार पाइला हिँड्नेहरूको तुलनामा ७ हजार पाइला हिँड्नेको मृत्युको जोखिम ४७ प्रतिशतसम्म कम हुने अध्ययनको मेटा विश्लेषणले देखाएको छ ।
यसो गर्दा कार्डियोभस्कुलर रोगको जोखिम २५ प्रतिशतले घट्ने पाइयो । त्यस्तै गरी टाइप २ मधुमेह, डिमेंशिया र डिप्रेसनको खतरा पनि क्रमशः १४ प्रतिशत, ३८ प्रतिशत र २२ प्रतिशत कम हुन सक्ने भेटियो ।
दिनहुँ ७० हजार पाइला हिँड्दा क्यान्सर जस्ता घातक रोगको जोखिम ६ प्रतिशत कम हुने बताइएको छ भने अचानक ढल्ने जोखिम पनि २८ प्रतिशतसम्म कम हुने अध्ययनले देखाइको छ ।
अध्ययनका अनुसार दैनिक ७ हजारभन्दा बढी पाइला हिँड्दा स्वास्थ्यलाई झनै बढी फाइदा हुन्छ । विशेष गरी धेरै हिँड्दा मुटुको स्वास्थ्य सुधारका साथै हृदयघातबाट पनि जोखिम कम हुने बताइएको छ ।
यो अध्ययन अष्ट्रेलिया र बेलायतका अन्वेषकहरूको टोलीले गरेका हुन् । यसमा विज्ञहरूले २०१४ देखि २०२५ को सुरुसम्म प्रकाशित आँकडाको समीक्षा गरेका थिए । यस अवधिमा ३१ अध्ययनलाई मेटा–विश्लेषणमा समावेश गरिएको थियो ।
कोही व्यक्तिले नियमित रूपमा १० हजार पाइला पूरा गर्छ भने यो राम्रो कुरा भएको विज्ञहरू बताउँछन् ।











नेपालीरैबार । २०८२ श्रावण ११, आईतवार