कपालमा स्याम्पुसँगै एलोभेरा जेल मिसाएर लगाउदा हुने फाइदा

एजेन्सी । एलोभेरा जेलमा पाइने विभिन्न पोषक तत्वहरूले कपाललाई स्वस्थ र चम्किलो बनाउन महत्वपूर्ण भूमिका खेल्छन्। यसलाई आफ्नो नियमित स्याम्पुसँग मिसाएर प्रयोग गर्दा निम्न फाइदाहरू प्राप्त गर्न सकिन्छः

कपालको वृद्धिः एलोभेरा जेलमा भिटामिन ए र ई प्रचुर मात्रामा पाइन्छ, जसले कपाललाई गहिराइबाट पोषण प्रदान गर्छ। यसले कपालको जरालाई बलियो बनाई स्वस्थ रूपमा बढ्न मद्दत गर्छ र कपाल लामो हुन्छ।

टाउको चिलाउने समस्यामा कमीः एलोभेराको सुदिङ गुणले टाउकोको छालालाई नमी प्रदान गर्छ र सुख्खापन कम गर्छ। यसले टाउको चिलाउने समस्याबाट राहत दिनुका साथै छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

चायाँको समाधानः चायाँको समस्याबाट ग्रसित हो भने र स्याम्पुले मात्रै यसलाई हटाउन सकेको छैन भने, स्याम्पुमा एलोभेरा जेल मिसाएर प्रयोग गर्दा चायाँ कम गर्न सकिन्छ। एलोभेरामा रहेका एन्टी -फंगल गुणहरूले चायाँ उत्पन्न गर्ने ब्याक्टेरिया र फंगसलाई नियन्त्रण गर्न सहयोग गर्छ।

प्राकृतिक कन्डिसनिङः एलोभेरा जेलले एक उत्कृष्ट प्राकृतिक कन्डिसनरको रूपमा काम गर्छ। यसले कपाललाई नरम र चिल्लो बनाउँछ, जसले गर्दा छुट्टै कन्डिसनर प्रयोग गरिरहनु पर्दैन । यसले कपालको फ्रिजनेस कम गर्न पनि मद्दत गर्छ।

कपाल झर्ने समस्यामा कमीः एलोभेरा जेलमा रहेका पोषक तत्वहरूले कपालको जरालाई बलियो बनाउँछन्। यसले कपाल झर्ने समस्यालाई उल्लेखनीय रूपमा कम गर्न सक्छ र कपाललाई घना बनाउन सहयोग गर्छ।

कसरी प्रयोग गर्ने ?

आफ्नो सामान्य मात्राको स्याम्पुमा थोरै एलोभेरा जेल मिसाएर राम्ररी घोल्ने । त्यसपछि यस मिश्रणलाई आफ्नो कपालमा सामान्य तरिकाले लगाएर धुनु पर्दछ । यसको नियमित प्रयोगले कपालमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

तपाईको प्रतिक्रिया