हुम्ला। करोडौँ लगानी भएका होटलहरू धान्न मुस्किल भएको बेला कैलाश मानसरोवर तीर्थयात्रा खुलेसँगै हुम्लाको पर्यटन व्यवसाय पुनः गतिशील बन्दै गएको छ । कोरोना महामारीपछि चीन सरकारले रोक लगाएको भिसा यस वर्ष खुला भएपछि भारतीय तीर्थयात्रीहरूको ठूलो चाप नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोवर मार्ग हुँदै देखिएको हो ।
होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष मिम लामाका अनुसार हाल सिमीकोटका अधिकांश होटलहरू अगस्टसम्मका लागि प्रिबुकिङ भएका छन् । गत तीन दिनयता तीर्थयात्रीहरूको आवागमन केही घटे पनि आगामी दुई महिनासम्म बुकिङ कायम रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार असारयता हालसम्म २,१५० भन्दा बढी भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । नेपालगन्ज विमानस्थलबाट दैनिक २२ भन्दा बढी उडान भइरहेका थिए भने हाल दुई-दुई वटा मात्र उडान भएका छन् ।
होटल व्यवसायी नाम्ग्याल तामाङका अनुसार केही टुर अपरेटरहरूले यात्रुहरूलाई सिमीकोटमा बसाइँ गराउन हिचकिचाएको पाइन्छ, तर होटल संघले यसलाई व्यवस्थित बनाउन पहल गरिरहेको छ ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हाल हुम्लामा पर्यटकीय माहौल सृजना भएको उल्लेख गर्दै, स्थानीय युवाहरूले रोजगारी पाएको र तरकारीजन्य कृषि उत्पादनको बजार पाएको जानकारी दिए । हिल्सा नाका पर्ने नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले पर्यटनसँगै अन्य क्षेत्र पनि लाभान्वित भएको बताए ।
नेपालगन्जको होटल व्यवसायमा पनि यस यात्राले नयाँ उत्साह थपेको छ । स्टार होटलहरू सेप्टेम्बरसम्मका लागि पूर्ण रूपमा प्रिबुकिङ भएको स्टारलाइट होटलका म्यानेजर विनोद बुढाथोकी र होटल कल्पतरुका प्रबन्धक लक्ष्मण पन्थीले बताए ।
तर, भारततर्फको लखनउ हुँदै स्थलमार्गबाट आउने पर्यटकहरू नेपालगन्जस्थित जमुनाह नाकामा अनावश्यक झन्झट खेप्नुपरेको गुनासो गरेका छन् । केही ट्राभल कम्पनीका प्रतिनिधिहरूका अनुसार ठुला बसहरूलाई प्रवेश अनुमति नदिँदा पर्यटकहरूले तीन घण्टा सास्ती खेप्नुपरेको थियो । नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले आवश्यक अनुमति लिएर आएका बसहरूलाई रोकिने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोवर मार्ग सबैभन्दा छोटो र आरामदायक रुट मानिन्छ । यसमार्ग हुँदै यात्राले ६ देखि १० दिनमै पूरा गर्न सकिन्छ, जसले भारतीय तीर्थयात्रीलाई ठूलो सहजता दिएको छ ।
कैलाश मानसरोवरको धार्मिक र आध्यात्मिक महत्त्वका कारण यो यात्रा हिन्दू श्रद्धालुहरूका लागि विशेष आकर्षणको विषय हो, जसले हुम्ला र नेपालगन्जको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने संकेत गरेको छ ।











नेपालीरैबार । २०८२ श्रावण १२, सोमबार