सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १६ वटै वडामा डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा लामखुट्टेको टोकाईबाट हुने डेङ्गी संक्रमणको जोखिम बढ्दै जान थालेपछि यसलाई नियन्त्रणमा राख्न लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न लागिएको हो ।
साउन महिना सुरु भएसँगै डेङ्गी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचार–प्रसार र समुदाय परिचालनमार्फत संक्रमण नियन्त्रण गर्न अभियान थाल्न लागिएको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गिरीले बताए ।
एडिज लामखुट्टे वयस्क नहुँदासम्मको करिव ८० प्रतिशत जिवनचक्र (अण्डा, लार्भा र प्यूपा अवस्था) पानी भित्र वा पानीको सतहमा हुने हुँदा मूल स्रोतलाई निर्मूल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेङ्गी संक्रमण नियन्त्रण गर्न नसकिने उनले बताए ।
साउनदेखि कार्तिक महिनासम्म डेङ्गी संक्रमण गराउने लामखुट्टेको प्रजनन्को उपयूक्त समय भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक समुुदायस्तरमा लामखुट्टेका प्रजनन् स्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिदै आएको उनले बताए ।
डेङ्गी संक्रमणको उपचार पद्धती नरहेको उल्लेख गर्दै लामुखट्टेको बासस्थान नष्ट गर्नुको विकल्प नभएको उनले बताए । वीरेन्द्रनगरमा शहरीकरण बढ्दै जादा डेङ्गी संक्रमको जोखिम उच्च बन्दै गएको उल्लेख गर्दै उनले गत वर्षमात्रै वीरेन्द्रनगर नगरपालिकामा एक हजार चार सय १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको बताए ।
यस्तै, अभियान सुभारम्भ कार्यक्रममा बोल्दै जनस्वास्य कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले डेङ्गी रोकथामको सन्दर्भमा देशव्यापी रूपमा समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धि गरी यस सम्बन्धी विद्यमान भ्रम तथा गलत धारणा हटाउन साउन महिनालाई सचेतना महिना घोषणा गरिएको बताइन ।
संघीय सरकारद्वारा घोषित अभियानमा समेटिएका विषयहरु तत्काल अघि बढाउन लागिएको उनले बताइन । लामखुट्टे प्रजनन् स्थलहरूको पहिचान र नियन्त्रणका प्रभावकारी अभ्यासहरूलाई व्यवहारमा उतार्न नागरिक तथा समुदायको सक्रिय सहभागिता प्रवद्र्धन गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
यस्तै, कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रभित्र डेङ्गी संक्रमण नियन्त्रणका लागि नगर अस्पताल र लाटिकोइली स्वास्थ्य केन्द्रबाट निशुल्क जाँचको व्यवस्था मिलाउने बताइन ।
नगर क्षेत्रलाई डेङ्गी संक्रमणमुक्त बनाउँन नगरपालिकाले आफ्ना संयत्रमार्फत काम गरिरहेको उल्लेख गर्दै उनले अभियानलाई हरेक टोलस्तरमा प्रभावकारी ढङ्गले पु¥याइने बताइन ।
नगरपालिकाले थालेको अभियानलाई सफल बनाउँन हरेक स्वास्थ्य संस्था, टोल विकास संस्था, विद्यालय, सञ्चारमाध्यम, जनप्रतिनिध, कर्मचारी तथा आमनागरिकको भूमिका महत्वपूर्ण हुनेपनि ढकालले बताइन ।








नेपालीरैबार । २०८२ श्रावण १४, बुधबार