काठमाण्डौँ । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकका रूपमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार उनी भायानेटको बोर्डमा आबद्ध भएका हुन्।
क्षेत्रीले आफ्नो बैंकिङ यात्रा सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बैंक अफ एशियामा विभिन्न वरिष्ठ पदमा कार्य अनुभव हासिल गरेका छन्।
उनले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा जिम्मेवारी सम्हालेका थिए। ग्लोबल आइएमई बैंकमा लामो समय सेवा गरेपछि सन् २०२० मा उनी सीईओ पदबाट अवकास भएका हुन्।
भायानेटले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको बैंकिङ तथा व्यवस्थापकीय अनुभव कम्पनीको दीर्घकालीन सुदृढीकरण र रणनीतिक विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।










नेपालीरैबार । २०८२ श्रावण १६, शुक्रबार