काठमाडौं । अहिले धेरैजसो किशोर–किशोरीहरु फिट देखिनको लागि बाल्यकालदेखि नै जिम जान थालिरहेका छन् । सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइडियल’ हरुको प्रभावले धेरै युवायुवतीले कम उमेरमै शरीर बनाउने होड चलाएका
छन् । तर, विशेषज्ञहरूका अनुसार कम उमेरमै जिम जानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
विशेषगरी, अझै शरीर र हड्डीको विकासको प्रक्रिया पूर्ण नभइसकेका अवस्थामा ‘हेभी वर्कआउट’ गर्नुले दीर्घकालीन असर पार्न सक्छ ।
हड्डीमा असर पुग्ने खतरा
किशोरावस्थामा शरीरको हड्डी अझै विकासको चरणमै हुन्छ । यस्तो अवस्थामा स्टेरोइडको प्रयोग या अत्यधिक वेट लिफ्टिंग गर्नुले हड्डीहरू कमजोर बनाउने खतरा रहन्छ। कहिलेकाँही हड्डी दुख्ने समस्या पनि देखिन्छ ।
इन्जुरीको जोखिम
कम उमेरका बालबालिकाको शरीर अझै सन्तुलित र सुदृढ नभएकाले भारी एक्सरसाइज गर्दा घुँडामा चोट, मांसपेशी तानिने जस्ता इन्जुरी हुने सम्भावना बढी हुन्छ ।
मांसपेशी कमजोर पार्न सक्छ
कम उमेरमा मांसपेशीको संरचना मजबुत नहुने हुँदा हेभी वर्कआउट गर्दा मसल पेन, मांसपेशी तानिने, थकान जस्ता समस्या देखिन्छन् । यसले दीर्घकालीन रूपमा मांसपेशी कमजोर बनाउँछ।
मुटुसम्बन्धी जोखिम
बाल्यकालमै अत्यधिक कार्डियो वा पावर लिफ्टिंग गरेमा धड्कन असामान्य हुनसक्छ । चिकित्सकका अनुसार, यस्ता अभ्यासले हार्ट ड्यामेज हुने खतरा पनि रहन्छ ।
गलत पोश्चरको समस्या
जिममा प्रशिक्षकको बिना निगरानी वा सही मार्गदर्शनबिनै कसरत गर्दा शरीरको पोश्चर बिग्रने सम्भावना उच्च हुन्छ । यसले बिस्तारै ढाड, घाँटी र जोर्नीमा असर गर्न सक्छ ।
विशेषज्ञको सुझाव
कम उमेरमा फिट रहनको लागि जिम जानु भन्दा पनि योग, दौड, स्ट्रेचिङ र सामान्य व्यायाम गर्न सुझाव दिइन्छ । यदि जिम जानैपर्ने हो भने अनुभवी प्रशिक्षकको निगरानीमा व्यायाम गर्नुपर्छ ।
शरीर बनाउने चाहाना राम्रो कुरा हो, तर उमेर अनुसारको सन्तुलित व्यायाम र पोषण नै दीर्घकालीन स्वास्थ्यका लागि उपयुक्त विकल्प हो ।











नेपालीरैबार । २०८२ श्रावण १६, शुक्रबार