काठमाडौँ । मनसुनको समय, मुसलधारे पानी र माटोको गन्धसँगै तातो चियाको स्वादले मौसमलाई झनै रमाइलो बनाउँछ । यदि चियामा पुदिनाको पात मिसाइएको हो भने, त्यो स्वाद मात्र नभई स्वास्थ्यको लागि समेत वरदान साबित हुन सक्छ ।
विशेषगरी वर्षायाममा फैलिने मौसमी रोगहरूबाट बच्नका लागि पुदिनाको चिया निकै लाभदायक मानिन्छ । आयुर्वेद र आधुनिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार पुदिनामा पाइने प्राकृतिक तत्त्वहरूले शरीरलाई भित्रैदेखि सन्तुलित राख्न सहयोग गर्छ ।
पाचन प्रणालीलाई सुधार
मनसुनमा धेरैलाई ग्याँस, अपच र पेट दुख्ने समस्या हुने गर्छ। पुदिनाको चियाले पेटलाई शीतल बनाउँछ र पाचन क्रिया सहज बनाउँछ ।
रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
पुदिनामा भरपूर मात्रामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ। यसले रुघाखोकी, ज्वरो र भाइरल संक्रमणबाट जोगाउँछ।
तनाव र टाउको दुखाइमा राहत
प्राकृतिक शान्तिकारक गुण भएको पुदिनाको चियाले माइग्रेन वा सामान्य टाउको दुखाइमा राहत दिन्छ । मनसुनमा वातावरणीय चापले हुने तनावलाई समेत कम गर्छ ।
छालाको संरक्षणमा सहायक
वर्षायाममा छालामा एलर्जी, डन्डिफोर र दाग देखिनु सामान्य हो । पुदिनाको चियाले शरीरबाट विषाक्त तत्व निकाल्न सहयोग पुर्याउँछ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
स्वासप्रश्वासमा सहजता
साइनस, एलर्जी वा नाक बन्द हुने समस्यामा पुदिनाको चिया अत्यन्तै उपयोगी हुन्छ । यसले स्वास नली खुलाउन र सजिलो सास फेर्न मद्दत गर्छ ।
पुदिनाको चिया बिहान खाली पेट वा बेलुकी खाजासँगै लिन सकिन्छ । दिनमा एक पटक सेवन गर्नु उपयुक्त मानिन्छ। चिया बनाउन पुदिनाका ताजा पात, अदुवा र कागती मिसाएर उमाल्दा स्वाद र औषधीय गुण दुवै बढ्छ ।
पुदिनाको चिया अत्यधिक सेवन गर्दा एसिडिटीको समस्या हुन सक्छ । साथै, गर्भवती महिला र औषधि सेवन गरिरहेकाहरूले चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
मनसुन सिजनमा स्वास्थ्यको ख्याल राख्दै स्वादिलो पेयको खोजीमा हो भने, पुदिनाको चिया उत्तम विकल्प बन्न सक्छ । यसले शरीर मात्र होइन, मस्तिष्कलाई पनि ताजगी दिने काम गर्छ ।











नेपालीरैबार । २०८२ श्रावण २३, शुक्रबार