सात महिनामै उखेलियो वीरेन्द्रनगर–लाटीकोईली सडकको पिच, स्थानीय आक्रोशित

सुर्खेत । वीरेन्द्रनगरमा सात महिना अघि मात्रै कालोपत्रे गरिएको सडकको पिच उखेलिन थालेपछि स्थानीयवासी आक्रोशित भएका छन् । मंगलगढी चोकदेखि लाटीकोईलीसम्मको सडक खण्डमा भएको यो अवस्था देखेपछि सरकारले गुणस्तरीय निर्माण नगरेको भन्दै आलोचना चर्किएको हो ।

स्थानीय प्रकाश आचार्य भन्छन्, सडक बनाउन सुरुमा कम्पनीले ढिलाइ गर्‍यो । बारम्बार आन्दोलन गर्दा बल्ल निर्माण भयो, तर सात महिनामै पिच उक्किनु राज्यकोषको दुरुपयोग हो । वीरेन्द्रनगर–९ वडा कार्यालय नजिकै करिब १०० मिटर सडकमा कालोपत्रे उखेलिएको छ । यो सडक काँक्रेविहार जाने मार्गको हिस्सा हो, जसको लापरवाह निर्माणका कारण स्थानीय निराश बनेका छन् ।

२०७८ मंसिर १४ मा पूर्वाधार विकास निर्देशनालयले अमर–सिस्ने नेपाल–मेघा जेभीसँग १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा २४ सय मिटर लामो सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । तर कम्पनीले काम समयमा नसक्दा निर्देशनालयले पटक–पटक म्याद थप गरेको थियो ।

हालसम्म सडक निर्देशनालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन । साईट इन्जिनियर प्रेमचन्द पाण्डेका अनुसार, अहिलेसम्म ८८ प्रतिशत मात्र काम भएको छ । कम्पनीले करिब ९ करोड ९६ लाख रुपैयाँ भुक्तानी लिएको छ, तर कल्भर्ट, जेब्रा क्रस, रंगरोगन जस्ता काम बाँकी छन् । यी पुरा भएपछि मात्र बाँकी रकम दिइनेछ । निर्माण कम्पनीको म्याद आगामी पुस १२ गतेसम्म रहेको छ।

पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्य शाहीका अनुसार सडक पिच उखेलिएको स्थानमा मर्मतका लागि कम्पनीलाई पत्र पठाइएको छ । वर्षायाम भएकाले तत्कालीन मर्मत कठिन छ । तर हामीले विग्रेको भागको भुक्तानी रोकेका छौँ र काम सम्पन्न नगरेसम्म पूरा रकम दिइने छैन, उनले बताए। निर्देशनालयका अनुसार, कम्पनीले केही दिनमै मर्मत सुरु गर्ने आश्वासन दिएको छ ।

तपाईको प्रतिक्रिया