सुर्खेत । कर्णाली प्रदेश सरकारले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएका आन्दोलनमा सहिद, घाइते तथा बेपत्ता भएकाहरूको विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन प्रदेशका सबै ७९ ओटा स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयका निमित्त सचिव उत्तम गौतमद्वारा हस्ताक्षरित सूचनामा गत आर्थिक वर्षमा वितरण भएको भत्ताको प्रतिवेदनसमेत पेश गर्न भनिएको छ। सूचनामा भनिएको छ, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा वितरण गरिएको भत्ताको प्रतिवेदन र यस आर्थिक वर्ष २०८२/०८३ मा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण प्राप्त नभएमा भत्ताको रकम अख्तियारी पठाउन मन्त्रालय बाध्य हुने छैन ।
साथै, सहिद स्मृति भत्ता र जीवन निर्वाह विशेष भत्ता वितरणको जिम्मेवारी पाएका शाखा वा कर्मचारीको नाम र सम्पर्क नम्बरसमेत पठाउन अनुरोध गरिएको छ । प्रदेश सरकारले मासिक दुई हजार रुपैयाँका दरले सशस्त्र संघर्ष जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते तथा अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्दै आएको छ ।
सूचनामा भत्ता वितरणका लागि सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१ र जीवन निर्वाह विशेष भत्ता वितरण कार्यविधि, २०८१ बमोजिम आवेदन संकलन गरी एकिन गर्ने व्यवस्था स्मरण गराइएको छ । अनुसूची–१ अनुसार आवेदन संकलन गरी अनुसूची–२ अनुसार लाभग्राहीको विवरण तयार पारेर अघिल्लो वर्षको भत्ता वितरण प्रतिवेदनसहित २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेलमा पठाउन स्थानीय तहलाई अनुरोध गरिएको छ ।










नेपालीरैबार । २०८२ श्रावण २९, बिहीबार