सुर्खेत । कर्णाली प्रदेशका जाजरकोट, दैलेख र सुर्खेतका २ सय १३ जना युवालाई मौरी व्यवसायसम्बन्धी उद्यमशीलता र व्यवसायिक योजना निर्माण तालिम प्रदान गरिएको छ । इन इलम परियोजना अन्तर्गत हेल्भेटास नेपालको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश, सुर्खेतले उक्त तालिम आयोजना गरेको हो ।
महासंघका संयोजक खगेन्द्र भण्डारीका अनुसार तालिममा मौरी गोला बीमालेख, उद्यमशीलता विकास, जोखीम व्यवस्थापन तथा व्यवसायिक योजना निर्माणसम्बन्धी सीप प्रदान गरिएको हो । मौरीपालन व्यवसायको संरक्षण र जोखीम कम गर्न ३ जिल्लाका करिब १ हजार मौरी गोलाको बीमा गर्ने योजना रहेको उनले बताए ।
सहभागीहरूले महको लागत, प्रतिफल, नाफा–नोक्सान विश्लेषण तथा मूल्य निर्धारणका आधारमा व्यवसाय विस्तार गर्ने उपायबारे ज्ञान प्राप्त गरेका छन् । तालिममा सहभागी हिरा आचार्यका अनुसार व्यवसायिक योजना मौरीपालन व्यवसाय अगाडि बढाउन अपरिहार्य छ । योजना बिना व्यवसाय गर्दा नाफा सीमित हुन्छ, योजनासहित अगाडि बढे फाइदा धेरै हुन्छ, उनले भनिन् ।
वीरेन्द्रनगर–९ का सहभागी सुरेन्द्र विसीले तालिमपछि आफ्नो व्यवसायलाई योजनाबद्ध रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । पहिले योजना नबनाई काम गर्दा खासै नाफा भएन, अब योजना बनाएर व्यवसाय विस्तार गर्छु, उनले भने । यस तालिमले मौरी व्यवसायीलाई मौरी गोला बीमा, क्षतिको दाबी प्रक्रिया, महको मूल्य निर्धारण तथा लागत गणनाको व्यावहारिक ज्ञान प्रदान गरेको आयोजक संस्थाले जनाएको छ ।










नेपालीरैबार । २०८२ श्रावण ३०, शुक्रबार