सुर्खेत । वैदिक सनातन धर्म सेवा समितिको आयोजनामा आगामी २०८२ साल भाद्र १ गते कर्णाली प्रदेशस्तरीय श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता हुने भएको छ । नेपाली कला, संस्कृति, धर्म, पर्व र रीतिरिवाजको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने तयारी समितिले गरेको छ ।
समितिका महासचिव ललित भट्टराईका अनुसार प्रतियोगितामा विभिन्न विधामा आकर्षक पुरस्कार राखिएको छ । प्रथम पुरस्कार रु १,०१,०००, द्वितीय रु ५०,५०० र तृतीय रु २५,०२५ निर्धारण गरिएको छ । त्यस्तै उदयमान लाखे, उत्कृष्ट लाखे, उत्कृष्ट भक्क, उत्कृष्ट तरवार चालक र उत्कृष्ट रथको लागि छुट्टाछुट्टै रु ११,००० पुरस्कार दिइनेछ ।
कार्यक्रमका लागि ध्वनि प्रणालीमा रु ५०,०००, टेन्ट–पन्डालमा रु ३०,०००, निर्णायकका लागि रु १५,०००, स्वयम्सेवक व्यवस्थापनमा रु ३०,०००, मायाको चिनो छपाइ तथा प्रकाशनमा रु २१,०००, प्रचार–प्रसार तथा लाइभ टेलिकास्टमा रु ४०,००० र विविध सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा रु ८२,४७५ खर्च हुने अनुमान गरिएको छ ।
समग्रमा पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले पनि अपनत्व ग्रहण गरी आवश्यक व्यवस्थापन खर्चको सहयोग गर्न समिति आग्रह गरिसकेको छ ।










नेपालीरैबार । २०८२ श्रावण ३०, शुक्रबार