श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रदर्शन शान्तिपूर्ण ढंगले मनाउन आग्रह

सुर्खेत ।  प्राचीन कालदेखि धार्मिक–सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी यस वर्ष मिति २०८२ साउन ३१ गते  आज परेको छ । सो अवसरमा भोलिपल्ट अर्थात् भाद्र १ गते सुर्खेतमा परम्परागत रूपमा श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रदर्शन हुने भएको छ ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको अध्यक्षतामा सुरक्षा निकाय र लाखेनाच प्रदर्शन गर्ने समूहरसंस्थासँग संयुक्त बैठक बसेर पर्वलाई मर्यादित, सभ्य र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ ।

निर्णयअनुसार जात्रामा धातुको धारिलो तरवार प्रयोग नगर्ने, आयोजक र स्वयंसेवकले विशेष पोशाक वा परिचयपत्र प्रयोग गरी दर्शकलाई सहयोग गर्ने, मादक पदार्थ सेवन, झगडा, उच्छृङ्खल गतिविधि हुन नदिने व्यवस्था मिलाइने भएको छ । त्यस्तै, रुट र समय सम्बन्धी जानकारी नेपाल प्रहरीलाई दिने, सुरक्षामा देखिन सक्ने जोखिम तत्काल नियन्त्रणमा लिने र प्रचारप्रसारका लागि पत्रकार महासंघ सुर्खेत शाखामार्फत सञ्चारमाध्यमलाई जानकारी गराउने व्यवस्था गरिएको छ ।

बैदिक सनातन धर्म सेवा समिति, सुर्खेतले भाद्र १ गते खुला मञ्चमा श्रीकृष्ण रथयात्रा तथा लाखेनाच प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगितामा सुर्खेतसहित अन्य जिल्लाका दर्जनभन्दा बढी समूहको सहभागिता रहनेछ । सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कारसहित ‘उदयमान लाखे’, ‘उत्कृष्ट लाखे’, ‘उत्कृष्ट भक्कु’, ‘उत्कृष्ट तरवार चालक’ र ‘उत्कृष्ट रथ’ शीर्षकमा रु ११ हजारदेखि  १ लाख १ हजारसम्मको नगद पुरस्कार वितरण गरिने कार्यक्रम रहेको जानकारी समितिले दिएको छ । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले उक्त पर्वलाई कर्णाली प्रदेश र सुर्खेत जिल्लाभर शान्तिपूर्ण ढंगले मनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया