सुर्खेतमा रोजगारीका नाममा लाखौं ठगी, ६४ लाख विगो मागसहित मुद्दा दायर

सुर्खेत ।  नेपाल सरकारले १४ वर्षअघि नै प्रतिबन्ध लगाएको नेटवर्किङ शैलीको व्यवसायमार्फत युवाहरू ठग्ने स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालक र कर्मचारीविरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दायर गरेको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सम्पन्न गरी करिब ६४ लाख रुपैयाँ विगो मागसहित आठ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार रोजगारी दिने प्रलोभन देखाएर स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिमार्फत एक सयभन्दा बढी युवाबाट ५० हजारदेखि दुई लाखसम्म असुल गरिएको थियो । गत साउन ५ गते प्रहरीले वीरेन्द्रनगर–३, मूलपानी चोकस्थित कार्यालयमा छापा मारेर ठगीमा संलग्नहरूलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक चरणमा पक्राउ परेकामाथि अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गरिएको छ,’ शाहीले भने, यसमा थप पीडितहरू सम्पर्कमा आइरहेका छन् । उनका अनुसार यसअघि पनि वीरेन्द्रनगरलगायत विभिन्न शहरमा रोजगारीको प्रलोभनमा पिरामिड शैलीमा ठगी हुने घटना बढ्दो क्रममा रहेको छ ।

सर्वोच्च अदालतले १४ वर्षअघि नै नेटवर्किङ व्यवसायलाई गैरकानुनी ठहर गर्दै प्रतिबन्ध लगाएको थियो ।  तर पछिल्ला वर्षमा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ का आधारमा घुमाउरो तरिकाले इजाजतपत्र वितरण भएपछि यस्ता कम्पनी फेरि सक्रिय भएका छन् ।

सुर्खेतमा पक्राउ परेका स्काई ड्रिम इन्टरप्रेनर्सका सञ्चालकहरूले ग्लोबल ओरियन्स नेपाल प्रालिमा रोजगारी लगाइदिने भन्दै बेरोजगार युवालाई रकम असुल गरेको प्रहरीले जनाएको छ । हालसम्म देशभर विभिन्न नाममा दर्ता भएका करिब दर्जन कम्पनीले कार्यालय स्थापना गरी सामाजिक सञ्जालमार्फत पिरामिड शैलीको सञ्जाल विस्तार गरिरहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ ।

कानुनले वस्तु वा सेवामा आधारित नभई केवल सदस्यता, शुल्क वा प्रलोभनमा आधारित सञ्जाल विस्तारलाई गैरकानुनी माने पनि यस्ता गतिविधि खुलेआम भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले यसबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया