प्रकाशकिय

नेपालीरैबार छैटौँ वर्षमा, सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको नयाँ संकल्प

प्रिय पाठक, शुभेच्छुक र सहयोगी मित्रहरू,

आज आईतबारदेखि नेपालीरैबार डटकम आधिकारिक रुपमा आफ्नो छैटौँ वर्षको यात्रामा प्रवेश गरेको छ । २०७७ साल भदौ १ गते सुरु भएको हाम्रो डिजिटल अनलाइन पत्रिकाको यस महत्वपूर्ण अवसरमा, हामी सबै पाठक, लेखक, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै, हाम्रो संस्थामा आबद्ध पत्रकार र कर्मचारी साथीहरूप्रति विशेष आभार प्रकट गर्दछौं, जसको लगनशीलता, परिश्रम र माया नै हाम्रो यात्राको आधार बनेको छ ।

डिजिटल मिडियाको भीडभाडमा एक संस्था जन्माएर आफ्नो छुट्टै पहिचान बनाउनु सजिलो थिएन । तर तपाईंहरूले देखाउनुभएको विश्वास र साथका कारण हामीले पाँचौँ वर्षसम्ममा आफ्नै पहिचान स्थापित गर्न सफल भएका छौं । हामीसँग जोडिएका प्रत्येक सहकर्मीको अनवरत प्रतिबद्धताले नै यो सम्भव भएको हो । हामी विश्वास गर्छौं,पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रिया नै हाम्रो ऊर्जा हो, जसले भविष्यमा पनि हामीलाई निरन्तर अघि बढाइरहनेछ ।

हाम्रो सुरुवाती उद्देश्य स्पष्ट थियो, नेपाल र नेपाली विशेषगरि कर्णाली प्रदेशका सन्दर्भका सामग्रीहरू व्यावसायिक, तथ्यपरक र आकर्षक ढंगले प्रस्तुत गर्ने, र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने । यस लक्ष्यतर्फको हाम्रो यात्रा सफल रह्यो भन्नेमा हामी ढुक्क छौं । हामीको अबको प्रतिज्ञा झन् स्पष्ट छ, सत्य, तथ्य र निष्पक्षतामा आधारित सन्तुलित पत्रकारितामा कहिल्यै सम्झौता नगर्ने । तपाईंका सुझाव र प्रतिक्रियालाई हामीले सधैं मार्गदर्शनका रूपमा लिएका छौं, र लिँदै जानेछौं ।

नागरिकका दैनिकी समस्या अझै उस्तै छन्, आवाजविहीनका आवाज बन्ने हाम्रो दायित्व अझ गहिरो छ । राजनीति नीति तथा जनजीवनका सरोकारहरूलाई प्राथमिकतामा राखेर हामीले पत्रकारिताको जिम्मेवारी पूरा गर्दै जानेछौं । आग्रह पुर्वाग्रह कसैसंग छैन् हुने पनि छैन् । यस छैटौँ वर्ष प्रवेशको अवसरमा हामी पुनः प्रतिवद्ध छौं,लोकतन्त्र, राष्ट्रियता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सशक्त कलम चलाउने । सत्य–तथ्यमा आधारित, निर्भीक र गहिरो विश्लेषणसहितको समाचार तथा रैबार लिएर हामी सधैं तपाईंको साथमा रहनेछौं । तपाईंहरूको विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । यही विश्वासका साथ नयाँ यात्रामा पनि हामीसँगै रहनुहुनेछ भन्ने हाम्रो अटुट भरोसा छ ।

धन्यवाद
प्रकाशक

तपाईको प्रतिक्रिया