सुर्खेतमा नौ साहित्यकारलाई सम्मान

सुर्खेत । सिर्जनशील विद्यार्थी समाजको आयोजनामा वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आयोजित तेस्रो सिजन काव्य शृङ्खला–६ गजल गायन कार्यक्रममा नौ जना साहित्यकारलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागी साहित्यकारहरूले आफ्ना विभिन्न गजल र रचनाहरू प्रस्तुत गरेका थिए । तीमध्ये गायक तथा संगीतकार सन्तोष श्रेष्ठले छ वटा गजललाई स्वर दिएका थिए । विशेषगरी गजलकार रमेश सुवेदीको ‘प्यारो कर्णाली’ शीर्षकको गजलले सहभागीहरूलाई उत्साहित तुल्याएको थियो । भरिभरा भरिएको हलमा प्रस्तुत उक्त गजलले कर्णालीको प्रेम, भाव र संघर्षलाई प्रभावकारी ढंगले अभिव्यक्त गरेको सहभागीहरूको भनाइ थियो ।

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु भएको काव्य शृङ्खलाले मनोरञ्जन मात्र नभई गाउँ–ठाउँको यथार्थ र देशको अवस्था प्रतिबिम्बित गर्ने काव्यिक भावहरू प्रस्तुत गर्‍यो । कार्यक्रममा साहित्यकार रमेश सुवेदी, ऋषि शर्मा ‘सुदामा’, महेन्द्र चन्द ‘महासागर’, धिरेन अनुपम, निराजन विष्ट, लिला ढकाल पोखरेल, सुवास गौतम, ज्ञानबहादुर नेपाली, सन्तोष श्रेष्ठलाई  विशेष सम्मान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया