हिल्सा–सिमकोट सडक कालोपत्रे प्रक्रिया सुरु, पहिलो पटक हुम्लामा पक्की सडक बन्ने

हुम्ला। चिनियाँ पक्षले हुम्लाको हिल्सा क्षेत्रमा नेपालतर्फको सडक कालोपत्रे गर्न सुरु गरेको छ। यसअघि गत मङ्सिरमा दुई देशलाई जोड्ने मितेरीपुल निर्माण गरिसकेपछि सम्झौता अनुसार चीनले नेपालतर्फको करिब साढे तीन सय मिटर सडक कालोपत्रे गर्नुपर्ने व्यवस्था थियो ।

हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार कालोपत्रे मापदण्डअनुसार सुरु भएको काम केही दिनमै सम्पन्न हुने अपेक्षा गरिएको छ । आवश्यक उपकरण र सामग्री स्थलमै पुगेकाले निर्माण सहज भएको छ ।

यसअघि संरचनामा क्षति हुने भन्दै स्थान परिवर्तनबारे छलफल भए पनि अन्ततः सम्झौतामा उल्लेख भएको स्थानमै कालोपत्रे सुरु गरिएको हो। हिउँदको कठ्याङ्ग्रिने चिसोका कारण काम अघि बढ्न नसकेको हुँदा अहिले मात्र सुरु भएको हो ।

सडक कालोपत्रे पूरा भएपछि हिल्सामा बनेको पक्की पुल सञ्चालनमा आउनेछ। यसअघि जिल्लाका केही सडकमा ढलान भए पनि कालोपत्रे गरिएको सडक भने पहिलो हो ।

यस्तै, हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर सडकलाई चीन सरकारले तीन वर्षभित्र स्तरोन्नति र कालोपत्रे गर्ने सम्झौता भएको छ। सोही अनुरूप प्राविधिक टोलीले विस्तृत सर्भे पूरा गरेर फर्किसकेको छ ।

तपाईको प्रतिक्रिया