आफु अनुकूल योजना नपरेको भन्दै नगरपालिकामा तालाबन्दी

मुगु । छायानाथ रारा नगरपालिकाका वडाध्यक्षहरूले आफु अनुकूल योजना नपरेको भन्दै बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नगरपालिका–१ का वडाध्यक्ष पदमराज मल्लका अनुसार नगर प्रमुख विष्णुकुमार भामले आर्थिक वर्ष २०८२/८३ को १७ औं बजेट सभामा छलकपट गरेको आरोपसहित वडाध्यक्षहरूले तालाबन्दी सुरु गरेका हुन् । विवाद समाधानका लागि आइतबार बिहान ११ बजे नगरसभाहलमा बैठक बस्ने निर्णय भएको मल्लले जानकारी दिए ।

तर नगर प्रमुख विष्णुकुमार भामले भने आफू माथि लगाइएका आरोप निराधार रहेको दाबी गरेका छन् । उनका अनुसार बजेटसभाका सबै निर्णयमा वडा अध्यक्षहरूको हस्ताक्षर छ र उनीहरूले भत्ता समेत बुझिसकेको प्रमाणित कागजात पनि छ । भामले “सभा सम्पन्न भएको एक सातापछि तालाबन्दी गर्नु बेमौसमी बाजा हो” भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

नगरपालिकाका एक कर्मचारीका अनुसार केही वडाध्यक्षहरूको व्यक्तिगत योजना सम्बोधन नभएकै कारण तालाबन्दी गरिएको हो । यसले बुधबारदेखि नगरपालिका सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ । यस विषयमा समन्वय गर्न प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको उपस्थितिमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा बैठक बस्ने र माग सम्बोधन गरी तालाबन्दी खोल्ने प्रयास हुने जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले दिएका छन् ।

तपाईको प्रतिक्रिया