हुम्लामा डोको बुन्ने परम्परा वैदेशिक रोजगारी र प्लास्टिकको चपेटामा

हुम्ला । प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएपछि परम्परागत रूपमा निगालोको चोयाबाट बनाइने डोको–डालो लोप हुने अवस्थामा पुगेका छन् । अदानचुली गाउँपालिका–२ का भ्याल महताराका अनुसार पहिले खेतबारीको मल, जंगलको घाँसदाउरा वा हाटबजारबाट ल्याइने खाद्यान्न सामग्री पिठ्युँमा बोक्न डोको अपरिहार्य थियो । तर अहिले सडक सञ्जाल विस्तारसँगै गाउँबस्तीमा गाडी पुग्दा डोकोको प्रयोग घटेको छ । पहिले दुई–चार दिन पैदल हिँडेर खाद्यान्न ल्याउनुपर्थ्यो, त्यसका लागि ठूलो डोको चाहिन्थ्यो । तर अहिले गाडीले नै सामान बोकिदिने भएकाले डोको बुन्ने सिप पनि हराउँदै गएको छ, महताराले भने ।

सर्केगाड गाउँपालिका–२ का जङ्ग फडेराले पनि गाडी सञ्चालन, काठ तथा प्लास्टिक सामग्रीको बढ्दो प्रयोग र कच्चा पदार्थको अभावले डोको व्यवसाय धरापमा परेको बताए । उनका अनुसार हुम्लाका गाउँघरमा परम्परागत रूपमा प्रयोग हुने डोका, खा¥या, डाला, थुन्से, छाप्री, पाथो, टोपी, सुपो र भकारी जस्ता सामग्री हराउँदै गएका छन् । पहिले हामीले यिनै सामान गाउँमा बिक्री गरेर जीविकोपार्जन गर्थ्यौं, तर अहिले प्रयोग घटेपछि आम्दानीको स्रोत नै हराएको छ, उनले गुनासो गरे ।

पछिल्ला वर्षहरूमा कृषिजन्य आयातित सामग्रीको प्रयोग बढ्नु, सामुदायिक वनमा निगालो अभाव हुनु र बाहिरबाट आयात हुने प्लास्टिक तथा धातुका भाँडाकुँडाले परम्परागत सीपलाई प्रतिस्थापन गरेका छन् । जेनतेन जंगलबाट निगालो ल्याएर बनेका डोको पनि अहिले बिक्री हुन छोडेका छन् ।

एक दशकअघिसम्म गाउँघरका परिवारहरूले निगालो र बाँसका सामग्री बिक्री गरेर राम्रै आम्दानी गर्ने गरेका थिए । फडेराका अनुसार एक डोको पाँच सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री हुने गर्थ्यो भने सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासम्म लग्दा मूल्य दोब्बर बढ्थ्यो । तर वैदेशिक रोजगारी र आधुनिक व्यवसायतर्फ युवाहरू आकर्षित हुँदा यो पेशा थोरै पाका पुस्तामाझ मात्रै सीमित हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया