परम्परा तोड्दै धामीझाँक्री, अब बिरामीलाई स्वास्थ्य चौकीतर्फ पठाउने

हुम्ला । विभिन्न देवताका धामीझाँक्रीहरूले अबदेखि आफ्नोमा उपचारका लागि आउने बिरामीलाई नजिकैको स्वास्थ्य संस्थामा जान सुझाव दिने प्रतिबद्धता जनाएका छन् । धामीहरूलाई लक्षित गरी आयोजित अभिमुखीकरण कार्यक्रममा उनीहरूले यस्तो अठोट सार्वजनिक गरेका हुन् ।

ताँजाकोट गाउँपालिका–२ का मष्टो देवताका धामी असौजे सार्कीले कार्यक्रममा सहभागी भएपछि धेरै महत्वपूर्ण जानकारी पाएको उल्लेख गर्दै भने, अब गाउँमा बिरामी भएर जो कोही आए पनि पहिलो सन्देश स्वास्थ्य चौकीमा गएर उपचार गर्नुपर्ने भन्ने हुनेछ । देवता चढेको बेला पनि बिरामीलाई अस्पताल जानुपर्छ भन्ने सन्देश दिनेछु ।

गाउँघरमा अझै पनि स्वास्थ्य संस्था भन्दा पहिला धामीझाँक्रीलाई देखाउने प्रचलन बलियो छ । तर जानकारीको कमीका कारण बिरामीलाई अस्पताल जान सल्लाह दिन ढिलाइ हुने गरेको सहभागी धामीहरूले स्वीकार गरेका छन् ।

आर्युवेद स्वास्थ्य केन्द्रकी प्रमुख चिकित्सक चाहाना शर्माका अनुसार धामीझाँक्रीमार्फतै जनचेतना फैलाउनु प्रभावकारी हुने देखिएकाले कार्यक्रम आयोजना गरिएको हो । उनले भनिन्, मानिस बिरामी परे सीधै धामीकहाँ जाने प्रवृत्ति अझै छ । त्यसैले धामीलाई नै चेतना दिनु जरूरी थियो । गाउँपालिकाका ४० जना धामीलाई चार घण्टा सामाजिक कुरितीविरुद्ध चेतनामूलक सन्देश दिइयो ।

कार्यक्रमको अन्त्यमा सबै धामीझाँक्रीले आफूहरूकहाँ आउने बिरामीलाई स्वास्थ्य संस्थामा पठाउने लिखित प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । चिकित्सक शर्माका अनुसार यस्तै कार्यक्रम अब जिल्लाभरका धामीझाँक्रीलाई लक्षित गरी विस्तार गरिनेछ ।

तपाईको प्रतिक्रिया