भेरीगंगामा जेम्स परियोजनाको समिक्षा तथा समापन

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा बालिका शिक्षाको दिगोपना र मूलप्रवाहिकरणका लागि सञ्चालित सशक्तिकरण परियोजना जेम्स को समिक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

एफसीडीओको आर्थिक सहयोग, ब्रिटिस काउन्सिल/भिएसओ नेपालको साझेदारी र भेरीगंगा नगरपालिकाको समन्वयमा आसमान नेपालले सुर्खेत जिल्लाका भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकामा तीन वर्षदेखि परियोजना सञ्चालन गर्दै आएको थियो ।

कार्यक्रममा विगत तीन वर्षमा प्राप्त उपलब्धि, चुनौती र प्रभावबारे आसमान नेपालकी कार्यक्रम संयोजक दुर्गा गाहा मगरले प्रस्तुति दिएकी थिइन्। उनका अनुसार परियोजनाले किशोरीहरूमा अंग्रेजी, डिजिटल र सामाजिक सीप विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ ।

भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले परियोजना प्रभावकारी भएको बताउँदै बालिका शिक्षामा यस्तो पहल दिगो रुपमा अघि बढाउनुपर्ने धारणा राखे । सहभागी किशोरीहरूले लेखन, सार्वजनिक बोल्ने कला, डिजिटल दक्षता, सामाजिक समझदारी र नेतृत्व क्षमतामा उल्लेखनीय सुधार भएको अनुभव बाँडेका थिए ।

डिजिटल साक्षरताका दृष्टिले पनि परियोजना लाभदायी भएको सरोकारवालाको भनाइ छ । किशोरीहरूले ल्यापटप प्रयोग, टाइपिङ सुधार, गुगल मीट र युट्युबजस्ता एपको प्रयोग, इमेल र सन्देश पठाउने सीप तथा अनलाइन सुरक्षाबारे ज्ञान हासिल गरेका छन् ।

कार्यक्रमको अन्त्यमा आसमान नेपालले नगरपालिकाको रोहवरमा सामुदायिक सिकाइ केन्द्रहरूलाई ल्यापटप हस्तान्तरण गरेको थियो । परियोजना समापन भए पनि भेरीगंगालाई आगामी दिनमा अन्य कार्यक्रममार्फत निरन्तर सहकार्य गर्ने अपेक्षा गरिएको संयोजक गाहाले बताइन् ।

तपाईको प्रतिक्रिया