सुर्खेत । कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घले सोमबार बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री यामलाल कँडेलले भदौ ४ गतेलाई कर्णालीवासीले सधैं सम्झने दिनको रूपमा लिने बताएका छन् ।
सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारले प्रदेश स्थापना दिवसको मूल दिवस भदौ ४ भए पनि आज, भोलि र पर्सि विविध कार्यक्रम गरी यसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको जानकारी दिए । उनले सरसफाइलाई महत्वपूर्ण विषय बताउँदै यसका लागि आवश्यक जनचेतना जगाउन सबैको सक्रियता जरुरी भएको उल्लेख गरे ।
मुख्यमन्त्री कँडेलले भने, आफ्नो घर अगाडिको आँगन सफा राखेमा बाहिरबाट आउनेहरू खुशी हुन्छन् । फोहोरका कारण लाग्ने रोग पनि लाग्दैन। घरभित्रको फोहोर सडकमा थुपार्ने काम राम्रो होइन। सबैले फोहोरलाई व्यवस्थित रूपमा सङ्कलन गरी तोकिएको स्थानमा मात्र फाल्नुपर्छ ।
उनका अनुसार शहरलाई स्वस्थ राख्न सके वातावरण स्वस्थ हुन्छ र त्यसले मानव जीवनलाई पनि स्वस्थ राख्छ । कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वाणिज्य सङ्घका पदाधिकारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख र सङ्घका अध्यक्ष हर्षविक्रम खड्कासहित सरोकारवालाको उपस्थिति थियो ।
बृहत सरसफाइ कार्यक्रम वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भई बजार क्षेत्र हुँदै वीरेन्द्रचोक र पिपलचौतारामा पुगेर समापन भएको आयोजकले जानकारी दिएकाे छ ।











नेपालीरैबार । २०८२ भाद्र ३, मंगलवार