गुर्भाकोटमा जेम्स परियोजनाको समिक्षा तथा समापन कार्यक्रम सम्पन्न

सुर्खेत । गुर्भाकोट नगरपालिकामा बालिका शिक्षाको दिगोपना र मूलप्रवाहिकरणका लागि सञ्चालित जेम्स परियोजनाको समिक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ।

एफसीडिओको आर्थिक सहयोग, ब्रिटिस काउन्सिल/भिएसओ नेपालसँगको साझेदारी र गुर्भाकोट नगरपालिकाको समन्वयमा आसमान नेपालले सञ्चालन गरेको उक्त परियोजना सुर्खेतका भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा कार्यान्वयन हुँदै आएको थियो।

समापन कार्यक्रममा आसमान नेपालको कार्यक्रम संयोजक दुर्गा गाहा मगरले तीन वर्षको अवधिमा प्राप्त उपलब्धि, चुनौती र परियोजनाको प्रभावबारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा सरोकारवालाले किशोरीहरूको अंग्रेजी, डिजिटल तथा सामाजिक सीपमा उल्लेखनीय सुधार भएको बताएका थिए।

किशोरीहरूले लेखन, सार्वजनिक रूपमा बोल्ने कला, डिजिटल दक्षता, सामाजिक समझदारी र नेतृत्व क्षमतामा सुधार भएको अनुभव सुनाएका थिए। उनीहरूले आत्मविश्वासका साथ विचारहरू स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने सीप विकास भएको बताएका थिए।

डिजिटल साक्षरताको दृष्टिले समेत कार्यक्रम उपयोगी बनेको सहभागीहरूले बताएका छन्। उनीहरूले ल्यापटप प्रयोग गर्ने, टाइपिङ सुधार गर्ने, गुगल मिट र युट्युब जस्ता एप प्रयोग गर्ने, इमेल पठाउने तथा अनलाइन सुरक्षा नियमहरूबारे ज्ञान हासिल गरेको उल्लेख गरेका छन्।

समापन कार्यक्रम गुर्भाकोट नगर उपप्रमुख एवं पीएमसी संयोजक मैना बिकको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख हस्त पुन प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। वडा नं ४, ६ र १० का वडाध्यक्ष, तीन विद्यालयका प्रधानाध्यापक, सामुदायिक सिकाई केन्द्र घुमखोला, गुर्भाकोट र मेहलकुना सीएलसीका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया