सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति सुर्खेतले जिल्लाको अधिवेशन भोली ९भदौ ५ गते० बिहान १० बजे जिल्ला समन्वय समितिको हलमा गर्ने भएको छ।
जिल्ला अध्यक्ष सुमन नाथ योगीले आज सुर्खेतमा पत्रकार सम्मेलन गरी महासंघको गतिविधि, विवाद तथा अधिवेशनसम्बन्धी जानकारी गराएका हुन्। उनले कर्णाली प्रदेश कार्यसमितिले विधिविपरीत गरेका गतिविधिबारे आपत्ति जनाउँदै अब हुने अधिवेशनमा सम्पूर्ण उद्यमी तथा व्यवसायीहरूको उपस्थितिका लागि आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमार्फत अध्यक्ष योगीले कर्णाली प्रदेश कार्यसमिति, प्रदेश महिला उद्यमी समिति र वीरेन्द्रनगर नगर कार्यसमितिले गत वर्ष सम्पन्न दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सवको आय–व्यय तीन वर्षसम्म सार्वजनिक नगरेको, नक्कली बिलमार्फत अडिट गरिएको, कार्यालयका सामग्री तथा अभिलेखसमेत लुटिएको लगायत गम्भीर अनियमितता भएको आरोप लगाए।
उनले प्रदेश अध्यक्ष चन्द्रबहादुर बीसीसहित केही पदाधिकारीले सीमित व्यक्तिहरुको सहभागितामा ‘कोठे बैठक’ राखी मनोमानी निर्णय गर्दै आएको, सुर्खेत जिल्ला खारेज गर्ने गैरकानुनी प्रयास गरेको र केन्द्रमा नक्कली दस्तावेज बुझाएको दाबीसमेत गरे।
केन्द्रीय कार्यसमितिले भने गत साउन १९ गतेको निर्णयअनुसार सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा अधिवेशन गराउन उपाध्यक्षहरूलाई जिम्मेवारी तोकेको र अहिलेसम्म जुम्ला, दैलेख, मुगुमा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइयो। हुम्ला र डोल्पाको अधिवेशन पनि भदौ ६ भित्र सम्पन्न हुने तयारी भएको उनको भनाइ छ।
जिल्ला अध्यक्ष योगीले केन्द्रिय कार्यसमितिको पहलकदमीमा लघु, घरेलु तथा साना उद्यमीमैत्री नीति कार्यक्रम सरकारको योजनामा समावेश भएकोप्रति धन्यवाद व्यक्त गर्दै आगामी कात्तिक १४–१५ गते हुने महासंघको केन्द्रीय अधिवेशन भव्य बनाउन सबै उद्यमीलाई सक्रिय भूमिका खेल्न अपिल गरे।











नेपालीरैबार । २०८२ भाद्र ४, बुधबार