सुर्खेत । हिन्दु नारीहरूको महान पर्व तीजको अवसरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले तिज सद्भावना कार्यक्रम तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले तीज पर्व केवल मनोरञ्जन र भेटघाटमा सीमित नभई महिला अधिकार, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग पनि जोडिएको बताइन् । उनले नारीहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन यस किसिमका सांस्कृतिक कार्यक्रमले सशक्त सन्देश दिने धारणा राखिन ।
प्रमुख ढकालले भनिन, “तीज पर्वलाई भड्किलो खर्च र देखावटी संस्कृतिमा सीमित नगरी नारी सशक्तिकरण र समानतामुखी समाज निर्माणतर्फ उन्मुख बनाउनुपर्छ । नगरपालिकाले पनि महिला–बालबालिकाको क्षेत्रमा लैंगिक समानता र अधिकार प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सिर्जना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, कर्णाली प्रदेशका सचिव विष्णप्रसाद न्यौपाने, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा, विभिन्न पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमले समाजमा सौहार्द, सद्भाव र आपसी एकता बढाउने कार्यमा पत्रकार महासङ्घ निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।











नेपालीरैबार । २०८२ भाद्र ४, बुधबार