जाजरकोट । यहाँका किसान पछिल्लो समय मकैबाली बचाउन खेतमै रातदिन चौकीदारी गर्न बाध्य भएका छन्। जाजरकोट जिल्लाका सात स्थानीय तहका किसानले रोपेको मकै दाना लाग्ने बेलामा बाँदर, बँदेललगायतका जङ्गली जनावरले नष्ट गर्न थालेपछि उनीहरू खेतीबारीमै बस्न थालेका हुन्।
भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिकालगायतका क्षेत्रमा जनावरको आक्रमण बढेपछि किसानले परिवारका सदस्य पालैपालो खेतमा बस्ने गरेका छन्।
भेरी नगरपालिका–१३ का लालबहादुर रोकायाका अनुसार पाक्दै गरेको मकै बाँदर, बँदेल र दुम्सीले खान थालेपछि दिनरात जाग्राम बस्नुपरेको छ। “बाँदर भगाउन मान्छेको पुतली बनाइन्छ, ढोल–नगारा बजाइन्छ, तर पनि सुरक्षित छैन, उनले भने।
यसैगरी, नलगाड नगरपालिका–४ की सिर्जना रावलले बिहानदेखि बेलुकासम्म खेतमै बस्नुपर्ने अवस्था आएको बताए । हिउँदमा गहुँ र बर्खामा मकैबाट छाक टारिन्छ, तर भित्र्याउने बेलामा जनावरले सखाप पारिदिन्छन्,उनको गुनासो छ ।
पिपलचौरका किसान लक्ष्मीबहादुर रावलले पनि ढिला गरेर खेतमा पुगे मकै नष्ट हुने चिन्ता रहने बताए । गाउँबस्तीका सबै दाजुभाइ मिलेर आफ्ना खेतमा चौकीदारी गर्ने प्रथा बसेको उनको भनाइ छ ।
किसानले यसअघि डिभिजन वन कार्यालयमा निवेदन दिएपछि अनुगमन भए पनि व्यवहारिक समाधान भने नआएको उनीहरूको गुनासो छ। सरकारले जङ्गली जनावर नियन्त्रण गर्न कानुन बनाए पनि प्रक्रिया झन्झटिलो भएकाले धेरै किसान कृषि पेसा नै छाड्ने अवस्थामा पुगेका छन्।











नेपालीरैबार । २०८२ भाद्र ५, बिहीबार