लिपुलेक प्रकरणमा अखिल (क्रान्तिकारी) सुर्खेतकाे विरोध कार्यक्रम सम्पन्न

सुर्खेत । अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिले लिपुलेकलाई व्यापारिक नाका बनाउने नाममा भइरहेको भारतीय–चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रको विरोध गर्दै विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पार्टीका कर्णाली प्रदेश सदस्य भीम आचार्य, केन्द्रीय उपाध्यक्ष अटल आचार्य, प्रदेश उपाध्यक्षहरू हिक्मत शाही र प्रकाश विकलगायत विभिन्न संगठनका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष अटल आचार्यले राष्ट्रिय स्वाधीनताको विषयमा सरकारले गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको आरोप लगाए । त्यस्तै, प्रदेश उपाध्यक्ष हिक्मत शाहीले प्रचण्ड प्रधानमन्त्री हुदाँ अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा त्रिपक्षीय पक्षलाई प्रोत्साहन दिने काममा सक्रिय रहेको तर वर्तमान सरकारले चासो नदेखाएको आरोप लगाए ।

प्रदेश उपाध्यक्ष प्रकाश विकले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकार र प्रतिपक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए । मध्यपश्चिम विश्वविद्यालय इन्चार्ज दिपेन्द्र जंग शाहीले भने सरकार सीमा विवाद समाधानमा उदासीन देखिएको र बरु आफ्नो सरकार बचाउने अभियानमै लागिपरेको टिप्पणी गरे ।

त्यस्तै, प्रदेश नेता भीम आचार्यले सीमा संरक्षणमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र अन्तर्राष्ट्रिय विवादलाई त्रिपक्षीय स्तरमा समाधान गर्नुपर्ने तर्क राखे ।

सचिव अर्जुन बुढाका अनुसार अखिल (क्रान्तिकारी)का विभिन्न नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सरकारले राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिएर सीमा विवाद तत्काल समाधान गर्नुपर्ने माग प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया