सुर्खेतका एक युवकले कुवेत पुगेको आठौं दिनमै पुलबाट हाम फालेर जीवन पारे समाप्त

सुर्खेत । कुवेतमा एक नेपालीले फ्लाइओभरबाट हाम फालेर जीवन समाप्त गरेका छन् । सुर्खेत, वीरेन्द्रनगर–४ शिवनगरका २३ वर्षीय हरिबहादुर गौतमले महाबुल्लास्थित २ सय १० नम्बर फ्लाइओभरबाट ३० नम्बर राजमार्गमा हाम फाल्दा मृत्यु भएको हो ।

गौतम आठ दिनअघि मात्र (अगस्ट १७) कुवेतमा पुगेका थिए र त्यहाँस्थित एक होटलमा सवारी चालकको काम गर्न थालेका थिए । प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान करिब ७ बजे उनी फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर सडकतर्फ हाम फालेका थिए । व्यस्त सडकबीचमा खसेका कारण गाडीले समेत ठक्कर दिएको बताइएको छ ।

सहकर्मीहरूले भनेका अनुसार, कुवेत पुगेको दोस्रो दिनदेखि नै उनको मानसिक अवस्था असामान्य देखिन थालेको थियो । यसबीच उनी २–३ दिनसम्म शिविरबाट हराएका थिए र पछि पुनः फर्किएका थिए । घटनाको दिन बिहान उनलाई अस्पताल लैजाने तयारी भइरहेका बेला अचानक भागेर पुलमा पुगेका र कपडा तथा पर्स छेउमै राखेर हाम फालेको सहकर्मीले बताएका छन् ।

सडकमा यात्रा गरिरहेकाहरूले उनको अस्वाभाविक गतिविधि देखेर भिडियो खिच्नसमेत भ्याएका थिए ।

कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई जानकारी दिइसकेको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

दूतावासका अनुसार हाल कुवेतमा रहेका नेपालीबीच आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषध प्रयोग तथा ओसारपसारजस्ता घटनामा वृद्धि भइरहेको छ ।

तपाईको प्रतिक्रिया