कांग्रेस निकट किसान महासङ्घ कर्णाली प्रदेश अधिवेशन विवादपछी निर्वाचनको तयारी

सुर्खेत । नेपाली कांग्रेससँग आबद्ध नेपाल किसान महासङ्घ कर्णाली प्रदेश अधिवेशन विवादग्रस्त बनेको छ । अधिवेशनमा कांग्रेसभित्र पुरानै गुटबन्दी देखिँदा खड्का पक्ष र थानी पक्षबीच तीव्र विवाद उत्पन्न भएपछि अहिले निर्वाचनको तयारी गरिएको हो ।

पार्टीको मूल राजनीतिमा जस्तै किसान संगठनमा पनि गुटबन्दीको प्रत्यक्ष प्रभाव परेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निकट समूह र कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी पक्षबीच तिखो रस्साकस्सी भएपछि अधिवेशन असहज बनेको हो ।

अधिवेशनको सुरुवातमै खड्का पक्षले थानी पक्षलाई समेट्नै नचाहेको, एकलौटी ढंगले टिका लगाएर आफ्नो पक्षका उम्मेदवारलाई निर्वाचित गराउन खोजेको भन्दै थानी पक्षले कडा आपत्ति जनाएको थियो । यस विषयलाई लिएर कांग्रेस सुर्खेतका उपसभापति विष्णु खड्का र नेतृ जानकी सिंहबीच समेत विवाद भएकाे थियो ।

लामो तनातनीपछि दुवै पक्षबीच अन्ततः सहमति भएर निर्वाचनमार्फत नेतृत्व चयन गर्ने सहमति भएको छ । निर्वाचन आजै नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा हुने भएको छ । तर हातपातको अवस्था आउने आशंका देखिएपछि पार्टी कार्यालय वरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

थानी पक्षले अधिवेशनमा गम्भीर धाँधली भएको आरोप समेत लगाएको छ । उनीहरूले सुर्खेत क्षेत्र नं. १ का सभापति खिमबहादुर ओली र क्षेत्र नं. २ की सभापति गंगासारु तिमल्सिनालाई हटाएर क्रमशः रामबहादुर गौतम र कृष्ण तिमल्सिनालाई जबरजस्ती नियुक्त गरिएको दाबी गरेका छन् । साथै अधिवेशनमा ३७ जना फर्जी प्रतिनिधि थपिएको समेत उनीहरूको आरोप छ । यसैबीच विवादबीच हुने निर्वाचनले किसान महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्व कसले हात पार्ने भन्नेबारे स्थानीय कार्यकर्तामाझ चासो बढेको छ ।

तपाईको प्रतिक्रिया